ओली र मोदीबीच के हुन्छ वार्ता ?

२०७२ फाल्गुन १ गते, शनिबार

काठमाडौं, १ फागुन । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण ७ फागुनमा हुने नेपाल र भारत दुवैले औपचारिक जानकारी दिएका छन् । नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले शुक्रबार ओलीको भ्रमण ७ देखि ११ फागुनसम्म हुने घोषणा गरेका हुन् ।
‘प्रधानमन्त्रीले भारतीय समकक्षीसँग आपसी हितका विषयहरूमा औपचारिक वार्ता गर्नेछन्, उनले राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन्,’ परराष्ट्र मन्त्रालयले भनेको छ, ‘उनले भारत सरकारका विभिन्न मन्त्रीहरू तथा विभिन्न राजनीतिक दलका नेताहरूसँग पनि भेटवार्ता गर्नेछन् ।’
‘नेपालका प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा फागुन ७ देखि ११ सम्म भारत भ्रमणमा आउँदैछन,’ भारतको विदेश मन्त्रालयले शुक्रबार गरेको पत्रकार सम्मेलनमा प्रवक्ता विकास स्वरूपले भने ।
८ फागुनमा दुई समकक्षीबीच छलफल– प्रधानमन्त्री ओली ७ फागुनमा दिल्ली जाादै छन् । उनले ८ फागुनमा हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक वार्ता गर्ने कार्यक्रम तय भएको छ ।
उनीहरूबीच नाकाबन्दीले तिक्त भएको दुई देशको सम्बन्धलाई सुमधुर बनाउादै द्विपक्षीय हितका बारेमा छलफल हुनेछ । ‘प्रधानमन्त्री ओलीको भ्रमणमा द्विपक्षीय सहायतालगायत दुईपक्षीय हितका विषयमा छलफल हुनेछ । विकास सहायता, ऊर्जा र कनेक्टिभिटीलगायतका विषयमा पनि छलफल केन्द्रित हुनेछ,’ पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले भने ।
एजेन्डा अझै तय भएनन्–प्रधानमन्त्री ओलीको भारत भ्रमणका एजेन्डा अझै तय भएका छैनन् । मन्त्रालयहरूबाट विषय सुझाब माग्ने काम सकिए पनि एकीकृत एजेन्डा टुंगो लागिनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
एजेन्डा लुकाइएको भन्दै कांग्रेसको आक्रोश– प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय छलफलमा आसन्न भारत भ्रमणका एजेन्डा लुकाइएको भन्दै कार्यबाहक सभापति रामचन्द्र पौडेलले आक्रोश व्यक्त गरे । ‘सरकारले कुनै काम गर्न नसके पनि प्रधानमन्त्री ओलीको भ्रमणलाई नै उपलब्धि मान्नुपर्ने अवस्था आएको’ भन्दै उनले व्यंग्यसमेत गरे ।
पहिला टेलिफोनमा, बिहीबार लिखित निम्तो–प्रधानमन्त्री निर्वाचित भएलगत्तै एमाले अध्यक्ष केपी ओलीलाई भारतीय समकक्षी मोदीले २४ असोजमा टेलिफोन गरेर भ्रमणको मौखिक निम्तो दिएका थिए । १६ पुसको टेलिफोन कुराकानीका क्रममा पनि मोदीले भारत भ्रमणको निम्तो दिएका थिए । तर, मोदीको औपचारिक लिखित निम्तो भने बिहीबार मात्रै आएको छ ।
‘औपचारिक निमन्त्रणापत्र बिहीबार मात्रै प्राप्त भयो, तर भ्रमणका लागि भारतले पहिले नै अनुरोध गरेको थियो,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘नेपालले पनि पहल गरिरहेको थियो ।’भ्रमणकै विषयमा गत साता अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रसचिव शंकरदास बैरागीलगायत नयाँदिल्ली पुगेर भारतीय उच्च अधिकारीसँग वार्ता गरेका थिए ।
परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अवकाशप्राप्त उपरथी प्रकाशबहादुर बस्नेतले पनि गत साता नयाँदिल्लीमा समकक्षी अजित डोभाललगायतसँग प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा छलफल गरेका छन् ।
प्रधानमन्त्री ओलीले २८ पुसमा सरकारी अधिकारीलाई भारत भ्रमणको तयारी गर्न निर्देशन दिएका थिए । सोहीअनुसार परराष्ट्र मन्त्रालयले भ्रमणको एजेन्डाबारे सम्बन्धित मन्त्रालयसँग समन्वय गरिरहेको छ ।
निकट र मित्रवत् नेपाल–भारत– भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले नेपालसँगको मित्रता ‘पुरानो, निकट र मित्रवत्’ रहेको भन्दै ओलीको भ्रमणपछि मित्रता थप प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।
‘वीरगन्ज–रक्सौलको नाकाबन्दी हटेको छ । यो लगायतका विषयको पृष्ठभूमिमा नेपालको राजनीतिक वस्तुस्थितिका बारेमा पनि छलफल हुनेछ,’ प्रवक्ता स्वरूपले भने । यसबाहेक भूकम्पपछि नेपाललाई दिने वचन दिएको एक अर्ब डलर ९२५ करोड अनुदान र ७५ करोड डलर ऋणका विषयमा पनि छलफल हुने उनले बताए ।
ओली मुम्बई हुँदै काठमाडौं फर्किने– प्रधानमन्त्री ओली भ्रमणको क्रममा भारतको आर्थिक राजधानी मुम्बई पनि पुग्ने भएका छन् । शुक्रबार साँझसम्म तय भएको भ्रमण तालिकाअनुसार ओली १० फागुनमा मुम्बई जानेछन् ।
११ फागुनमा उनी मुम्बईबाटै स्वदेश फर्किनेछन् । उनी गुजरात, उडिसाको पुरी र मुम्बईमध्ये एक ठाउँ जानेबारेमा गृहकार्य भएको थियो । बिहीबार व्यापारिक प्रतिनिधिसँगको कुराकानीमा पनि ओलीले मुम्बईमा आफू जाने र व्यवसायीसँग छलफल गर्ने जानकारी दिएका थिए ।
प्रजातन्त्र दिवसमा दिल्लीमा रात्रिभोज– प्रधानमन्त्री ओलीको उपस्थितिमा प्रजातन्त्र दिवसको साँझ दिल्लीस्थित नेपाली दूतावासले रात्रिभोज आयोजना गर्ने भएको छ । रात्रिभोजमा भारतीय नेताहरूसँग पनि भेटवार्ता हुने दूतावासले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]