कांग्रेस महाधिवेशनका स्थगित कार्यक्रमहरु सुचारु

२०७२ फाल्गुन १ गते, शनिबार

काठमाडौं, १ फागुन । गत २५ गते मध्यराति १२ः५० मा आफ्नै निवास महाराजगञ्जमा पार्टी सभापति सुशील कोइरालाको असामयिक निधनका कारण स्थगित गरिएको नेपाली कांग्रेसको १३ औं महाधिवेशनअन्तर्गतको कार्यक्रमहरु आजबाट पुन सुरु भएको छ । सभापति कोइरालाको असामयिक निधनबाट शोकमा डुबेको कांग्रेसलाई चैत्र ५ गतेभित्र महाधिवेशन सकाउनैपर्ने संवैधानिक बाध्यता रहेको छ । त्यसैले १३ दिनसम्म पार्टीका अरु सबै कार्यक्रम स्थगित गरी शोकमा रहेको कांग्रेसले आजबाट भने स्थगित स्थानीय अधिवेशनका कार्यक्रमहरु थाल्न लागेको हो । यसक्रममा विभिन्न जिल्लामा आज नेतृत्वका लागि मतदान हुँदैछ ।
अहिलेसम्म कांग्रेसले २८ जिल्लामा सभापतिसहितको जिल्ला नेतृत्व चयन गरिसकेको छ । जसअनुसार चारवटा जिल्लामा निर्विरोध सभापति चयन भएका छन् भने अरु जिल्लामा आन्तरिक प्रतिष्पर्धाबाटै नेतृत्व चयन गरिएको हो ।
हालसम्म चयन भएका सभापतिमा १४ जना संस्थापन, १२ जना देउवा पक्षका छन् भने दुई जनाले पक्ष खुलाएका छैनन् । यसपटक यसअघि संस्थापनमा रहेका केही जिल्ला देउवा खेमामा र केही संस्थापनका पोल्टामा पुगेका छन् ।
सभापति सुशील कोइरालाको निधन भएकाले यही फागुन २० देखि काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनमा सभापति पदमा अब कार्यवहाक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाबीच सीधा प्रतिष्पर्धा हुने देखिएको छ ।
यद्यपि, संस्थापनका तर्फबाट पौडेलकै नाममा सर्वसम्मति बन्ने नबन्ने अझै टुंगो लागिसकेको छैन । संथापनका तर्फबाट अरु नेता पनि आकांक्षी देखिएका छन् भने देउवा पक्षले संस्थापनकै केही प्रभावशाली नेतालाई आफूतर्फ तानेर परिणाम आफ्नो पोल्टामा पार्ने रणनीति बनाइरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]