आज प्रेम दिवस, विश्वभर मनाईंदै
काठमाडौं, २ फागुन। आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस , विश्वभर मनाईंदै छ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकैरुपमा मनाउने गरेका छन् । नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस विशेष रुपले मनाउने गरिएको छ । यो दिन प्रेमि प्रमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्साउने तथा आफूलाई मन परेका व्यक्ति समक्ष प्रेम प्रस्ताव पनि राख्ने गरिन्छ । दिवसका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम हुँदैछन् । अहिले विश्वभर युवायुवतीले विशेष महत्वका साथ मनाउने भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसका बारेमा विभिन्न किंवदन्ती पाइन्छ । विशेष गरी भ्यालेन्टाइन डे को औपचारिक सुरुआत सन् २६९ बाट रोमनबाट शुरु भएको हो । यो दिवससँग एउटा दुःखान्त प्रेम कथा जोडिएको छ । तत्कालीन रोमन सम्राट क्लोडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए ।
प्रेम र विवाहले सैनिक कमजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लोडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए । तर सम्राटको नियम मन नपराउनेमध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए । उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे ।
जेलमा रहँदा सन्त भ्यालेन्टाइनको जेलरकी दृष्टिविहीन छोरीसँग माया बस्यो । आफूलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइनले लभ फ्रम योर भ्यालेन्टाइन भन्ने हस्ताक्षरसहितको प्रेमपत्र आफ्नी प्रेमिका अर्थात जेलरकी छोरीलाई दिएको कथन छ । उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकार गरेका थिए ।
उनलाई सन् २६९ को फेब्रअरी १४ मा मृत्युदण्ड दिइएको थियो । यही दिनको सम्झनामा सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभर हरेक वर्ष १४ फेब्रअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाउने गरिएको छ ।