कर्मचारीलाई निर्भीकताका साथ काम गर्न आग्रह
काठमाडौँ, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीतन्त्रमा काम पन्छाउने र आफूभन्दा ठूला पदका व्यक्तिसँग डराउने प्रवृत्तिप्रति असन्तोष व्यक्त गर्दै राम्रो काम गरे कसैसँग पनि डराउनु नपर्ने बताएका छन । लगानी बोर्डको कार्यालय र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । विकास सम्झौता कार्यान्वयनका लागि जिल्ला तहका सरकारी अधिकारीका लागि आयोजित तालिमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारी कर्मचारीलाई निर्भीकताका साथ राम्रो काम गर्न आग्रह गरे । लगानी बोर्डको कार्यालय र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा आज यहाँ आयोजित सो कार्यक्रममा ठूला परियोजनामा स्थानीय जनताको अवरोध देखिने गरेकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भने , “स्थानीय प्रशासन र लगानीकर्ताले स्थानीय जनतालाई सम्झाई विश्वस्त बनाउनुपर्छ ।” उनले राजनीतिक अधिकारका रुपमा संविधानसभाबाट संविधान जारी भइसकेकाले अब विकास र समृद्धिमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए ।
कार्यक्रममा मुख्य सचिव डा सोमलाल सुवेदीले विकास आयोजनालाई दु्रतगतिमा अघि बढाउन सरकारले वातावरणीय प्रभाव मूूल्याङ्कन प्रक्रियालाई छोट्याएको उल्लेख गर्दै अबको कर्मचारीतन्त्र सामाजिक सम्बन्धमुखी र विकासमैत्री हुनुपर्नेमा जोड दिए ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तलेस्थानीय प्रशासनले प्रभावित क्षेत्रका जनतामा आयोजनाप्रति अपनत्वको भावना जगाउनु अपरिहार्य रहेको धारणा राखे ।
प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेले मुलुकको विकास प्रशासन थला परेको अवस्थामा यस्ता तालिमले स्थानीय कर्मचारीमा जिम्मेवारी र उत्तरदायित्व वहन गर्ने भावना जगाउने विचार व्यक्त गरे ।
तालिम यही फागुन ६ गतेसम्म चल्नेछ । तालिममा माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् परियोजना प्रभावित जिल्ला दैलेख, अछाम, सुर्खेत र सङ्खुवासभाका प्रजिअ, स्थानीय विकास अधिकारी, मालपोत अधिकृत, वन अधिकृत र नेपाल विद्युत् प्राधिकरणका प्रमुख गरी २० जनाको सहभागिता छ ।
स्थानीय अधिकारीलाई विकास परियोजना सम्झौतालाई कार्यान्वयन गर्ने सम्बन्धमा देखिने चुनौती तथा समस्यालाई समाधान गर्न कसरी काम गर्ने सम्बन्धमा विज्ञबाट तालिम दिइनेछ ।