हावाबाट विजुली उत्पादन गरिदै
काठमाडौं, ५ फागुन । बैकल्पिक उर्जा विकास केन्द्रको लागत तथा कृष्ण ग्रील कम्पनी विराटनगरको कन्सल्टेन्टमा पाँचथरको सराङडाँडा गाविस–८ सप्तमी बजारका स्थानीयलाई लक्षित गरी हावाबाट विजुली उत्पादनको प्रयास सुरु भएको छ । बैकल्पिक उर्जा विकास केन्द्रको लागत तथा कृष्ण ग्रील कम्पनी विराटनगरको कन्सल्टेन्टमा आयोजना वीन मिल निर्माण गर्न लागिएको सौर्य उर्जा उपभोक्ता समितिका अध्यक्ष सन्तोष शेर्माले जानकारी दिए । उनले चार महिनाअघि परिक्षणका लागि त्यहाँ टावर जडान गरिएको बताए । यो परीक्षण ६ महिनासम्म गर्नुपर्दछ । २५ लाख रुपैयाँ लागत अनुमान गरिएको यो आयोजनाबाट ८ देखि १० किलोवाटसम्म विजुली उत्पादन गर्न सकिने छ ।
आयोजना सफल भएमा सप्तमी बजारका १ सयभन्दा बढी घरधुरी लाभान्वित हुने छन् । यस्तै सप्तमी वजारमै रहेको नर्थ नेपाल टि स्टेट फ्याक्ट्री सञ्चालनका लागिसमेत हावाबाट विजुली निकाल्न लागिएको बताइएको छ । यो स्थानमा सवैभन्दा बढी हावा चल्ने भएकाले अहिले हावाको मापन गर्न टावर निर्माण गरी परिक्षण भइरहेको समितिले जनाएको छ ।