एमालेको विधान संशोधनसहित पारित

२०७२ फाल्गुन ५ गते, बुधबार

काठमाडौं, ५ फागुन । नेकपा एमाले संसदीय दलले दलको विधान संशोधनसहित पारित गरेको छ । दलले आफ्नो विधानलाई नयाँ संविधानअनुरुप हुनेगरी संशोधन गरेको हो । संशोधित विधानअनुसार २५ सदस्यीय विकास क्षेत्रको प्रतिनिधित्व रहने बोर्डलाई विस्तार गरी प्रदेशअनुरुप गठन गर्ने र त्यसलाई २७ सदस्यीय बनाउने उल्लेख छ ।
यसअघि, संसदीय दलका नेता, उपनेता, प्रमुख सचेतक र उपसचेतकविरुद्ध अविश्वासको प्रस्ताव प्रस्तुत गर्ने व्यवस्था भएकोमा त्यसलाई सुधार गरी अब आइन्दा प्रमुख सचेतक र उपसचेतकविरुद्ध अविश्वास प्रस्ताव गर्न नपाइने सो संशोधित विधानमा व्यवस्था गरिएको छ । व्यवस्थापिका संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको बैठकमा संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले समितिका सदस्यहरुको उपस्थिति, प्रभावकारितालगायतका विषयमा जानकारी गराएका थिए । सचेतक ढकालले दिएको जानकारीअनुसार समग्रमा पार्टीका तर्फबाट समितिमा रहने सदस्यको भूमिका र उपस्थिति राम्रो देखिएको निष्कर्ष निकालिएको थियो । समितिको बैठकमा अधिक उपस्थित हुने तीनजना सदस्यको नाम सार्वजनिक गरिएको थियो । पार्टी अध्यक्ष एवं संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओली कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेपछि उपनेता सुवास नेम्वाङको अध्यक्षतामा बैठक बसेको थियो ।- रासस

प्रतिक्रियाहरु

[anycomment]