१५ मेगावाट बिजुली भित्र्याइयो
काठमाडौं, ६ फागुन । नेपाल विद्युत प्राधिकरणले भारतबाट ल्याउने भनिएको ७० मेगावाट बिजुलीमध्ये १५ मेगावाट राष्ट्रिय प्रशारण लाइनमा जोडिएको जनाएको छ । प्राधिकरणले बुधबार बेलुका ६ बजेदेखि १५ मेगावाट बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिएको जनाएको छ । प्राधिकरणका अनुसार बाँकी ५५ मेगावाट बिजुली जोड्न एक हप्ता समय लाग्ने छ । सिमा क्षेत्रबाट बिजुलीको लाइन जोडेको पहिलो पटक भएकाले ट्रान्समिसनले प्रभावकारी रुपमा काम गर्ने नगर्ने निश्चित नभएकाले १५ मेगावाट मात्र जोडेर परीक्षण थालिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले बुधबार मात्रै ट्रान्समिसन तयार पारेकाले पनि त्यो पूरा चार्ज नभएकाले ७० मेगावाट नै जोड्न समस्या भएको हो । ७० मेगावाट बिजुली आयात भएपछि केही राहत मिल्ने भए पनि माग धेरै तर बिजुलीको उत्पादन कम हुँदै गएकाले लोडसेडिङ घटाउनेबारे अहिले नै यसै भन्न नसकिने प्राधिकरणको भनाई छ । यस अघि भारतबाट ८० मेगावाट बिजुली ल्याउने तयारी भएपनि ७० मेगावाट मात्रै प्रसारण लाइनमा जोड्न लागेको प्राधिकरणले जनाएको छ ।