सिरियामा युद्धविरामको प्रस्ताव लागू हुदै

२०७२ फाल्गुन ११ गते, मंगलवार

काठमाडौं, ११ फागुन । सिरियामा जारी हिंसा अन्त्यको पहिलो प्रयासका लागि अमेरिका र रुसले तयार पारेको युद्धविरामको प्रस्ताव यही हप्ताको अन्त्यबाट लागु हुने भएको छ । सिरिया मामिलामा निर्णायक मानिँदै आएका रुस र अमेरिकाले पटक–पटकको वार्तापछि युद्धविराम प्रस्ताव तयार पारेको दाबी गरेका थिए । यो प्रस्ताव लागु हुनेमा भने विश्वभर शंका गरिएको थियो । गएराति अमेरिकी राष्ट्रपति बाराक ओबामाले रुसी समकक्षी भ्लादिमीर पुटीनसँग टेलीफोन संवाद गरेपछि युद्धविराम लागु गर्ने सहमति भएको हो ।
ओबामा र पुटीनबीच टेलिफोन वार्ता भएपछि दुबै देशबाट संयुक्तरुपले सार्वजनिक गरिएको विज्ञप्ति अनुसार सिरियामा यही फेब्रुअरी २७ तारिख अर्थात् आगामी शनिबार मध्यरातदेखि आंशिक युद्धविराम लागु हुनेछ ।
यो युद्धविरामलाई सिरियाका राष्ट्रपति बसर अल असाद र केही विद्रोही समुहले सहमति जनाएको दाबी गरिए पनि मुख्य आतंकवादी समुहहरु भने यसबाट टाढा छन् ।
सिरियामा पछिल्लो समय अत्यन्तै सक्रिय ईस्लामिक स्टेट आईएस र अल कायद निकट नुस्रा फ्रन्टले भने युद्धविराममा सहमति जनाएका छैनन । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]