सार्वजनिक स्थलमा धूमपान गरे पाँचसय जरिबाना
काठमाडौं, १४ फागुन । नेपाल प्रहरीले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवनमा कडाइ गरेको छ । प्रहरीले हिजोमात्र सार्वजनिक स्थानमा धूमपान गरेको भन्दै काठमाडौंका चार सयजनालाई जनही सय रुपैयाँ जरिबाना गरेको छ । प्रहरीले सार्वजनिक स्थानमा धूममान नगर्न तीन महिनादेखि सर्वसाधारणलाई काउन्सिलिङ गर्दै आएको थियो । ‘हामीले सुरुमा काउन्सिलिङ गर्यौं, सम्झायौं तर हेपाहा प्रवृत्ति बढेपछि कारबाहीमै उत्रिनु परेको हो’, महानगरीय प्रहरी परिसर टेकुका एसएसपी विक्रमसिंह थापाले भने । सुर्तीजन्य पदार्थ नियमन समितिले बुधबार राजधानीको सूर्य टोबाकोको मुख्य डिलर हनुमानथानमा सिलबन्दी गरेको थियो ।
यसैबीच, सूर्य टोबाकोले सरकारले दिएको निर्देशनविपरीत चुरोटको बट्टामा ९० प्रतिशत चेतनामूलक लोगो एवं सूचना नराखेपछि समितिले छापामारी सिलबन्दी गरेको हो । एसएसपी विक्रमसिंह थापाका अनुसार सूर्य नेपालले ११ महिनादेखि चुरोटको बट्टामा सरकारले दिएको निर्देशनविपरीत चेतनामूलक सामग्री नराखेकाले छापामारी सिलबन्दी गरिएको हो । प्रहरीले सिलबन्दी गरेसँगै ५० लाख रुपैयाँबराबरको चुरोटसमेत बरामद गरिएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीको अध्यक्षतामा बनेको समितिले विद्यालयको सय मिटर वरपर सुर्तीजन्य पदार्थ सेवन निषेध गर्ने निर्णय गरेको छ । अब विद्यालय एवं क्याम्पसको सय मिटरको पेरिमिटरमा सुर्तीजन्य पदार्थ सेवन गर्न पाइनेछैन । समितिमा प्रहरी र जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत रहनेछन् । थापाले भने, ‘लागूऔषध सेवनको पहिलो खुड्किलो चुरोट, खैनी र बिँडी नै हो । हामीले पहिलो खुड्किलोमै रोक्ने प्रयास गरेका छौं । यो कडाइका साथ लागू हून्छ । सुर्तीजन्य पदार्थ प्रयोगले क्यान्सरजस्तो डरलाग्दो रोगको सिकार हुनुपर्छ ।’
परिसरले नक्सालस्थित भाटभटेनीबाट समेत सूर्य नेपालबाट उत्पादित चुरोट बरामद गरेको छ । ‘युवाशक्ति कुलतमा फस्ने र स्कुल एवं कलेजका विद्यार्थीमा समेत नराम्रो असर गर्ने भएकाले सुर्तीजन्य पदार्थ सेवनमा रोक लगाइएको हो । हामीले विद्यालय र कलेजमा गएर चेतनामूलक कक्षा लिँदै आएका छौं’, उनले भने ।