मधेसी मोर्चाद्वारा आन्दोलन चर्काउने निर्णय
काठमाडौं, १५ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले आन्दोलनका थप कार्यक्रम ल्याउन मोर्चामा आवद्ध ७ पार्टीबाट १-१ जना रहनेगरी सचिवालयको गठन गरेको छ । मोर्चाले आफ्ना मागबाट सरकार भाग्न खाजेको भन्दै आन्दोलनका नयाँ कार्यक्रम ल्याउने निर्णय गरेको हो । सचिवालयको सुझाव अनुसार मोर्चाले केही दिनभित्रै आन्दोलनका नयाँ कार्यक्रम ल्याउने सद्भावना पार्टीका महासचिव मनिष सुमनले बताए । आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा र क्षतिपूर्ति, घाइतेलाई उपचार, र र ११ बुँदे माग पूरा गर्न दवाव दिँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय पनि मोर्चाको बैठकले गरेको छ ।
मोर्चाले मधेसी मोर्चाका कार्यकर्तालाई सरकारले धमाधम झुठ्ठा मुद्दा लगाउन तत्कालै बन्द गर्नुपर्ने पनि मोर्चाको माग छ । प्रधानमन्त्रीको भारत भ्रमण पूर्ण असफल भएको निष्कर्ष निकाल्दै मोर्चाले सरकारले मधेसीका मागलाई अनेक बहानामा पञ्छाउन खोजेको मोर्चाको ठहर छ ।