सिम्रिक एयरको विमानमा बम नरहेको पुष्टी
काठमाडौं, १७ फागुन । आज बिहान काठमाडौंबाट लुक्ला गएको सिम्रिक एयरको डानियर जहाजमा बम रहेको सूचना गलत भएको पुष्टी भएको छ । बिहान ७ बजेर १५ मिनेटमा उडेर ७ बजेर ४५ मिनेट जाँदा लुक्ला ल्यान्ड गरेको उक्त विमानमा बम रहेको पर्चा भेटिएसँगै विमानस्थलमा त्रास फैलिएको थियो ।
नेपाल प्रहरीका प्रवक्ता माधव जोशीका अनुसार काठमाडौंबाट लुक्ला गएर अवतरण गरेको सिम्रिक एयरको उक्त विमानको सामान अनलोड गर्दा ‘खबरदार जहाजमा बम छ’ भन्ने सूचना लेखिएको कागज भेटिएपछि खानतलासी गर्दा कुनै पनि शंकास्पद चिज नभेटिएको बताए ।सिम्रिक एयरका एक अधिकारी प्रज्जवल थापाका अनुसार प्रहरीले खानतलासी गरेर क्लियरेन्स दिएसँगै जहाज काठमाडौं आउने तयारीमा छ । ‘जहाजमा बम छ भन्ने पर्चा कसले, कसरी राख्यो भन्ने विषयमा हामीले आन्तरिक छानबिन पनि गर्छौं र सरकारलाई पनि छानबिन गर्न माग गर्छौं,’ उनले भने ।