बेवारिसे शव गाड्ने तयारी

२०७२ फाल्गुन १९ गते, बुधबार

काठमाडौं, १९ फागुन । महाराजगञ्ज क्याम्पस, फोरेन्सिक मेडिसिन विभागको शवगृहमा राखिएको चार दर्जन बेवारिसे शव कुहिएर दुर्गन्ध फैलिन थालेपछि जिल्ला शव व्यवस्थापन समिति काठमाडौंले गाड्न लागेको छ । भूकम्पका बेला ज्यान गुमाएका तर पहिचान हुन नसकेका झण्डै ४८ जनाको शव गाड्ने तयारी भएकोहो । विभागले यसअघि नै शव व्यवस्थापनका लागि पटक पटक आग्रह गरेपनि सरकारले शव गाड्ने स्थान र आवश्यक रकम उपलब्ध नगराउदा शव व्यवस्थापन हुन सकेको थिएन ।
‘शव व्यवस्थापनको काम त्यत्ति सजिलै हुँदैन, पहिचान हुनसक्ने र आफन्तले जिम्मा लिने सम्भावना हुन्छ । त्यही भएर हामीले केही शव आफन्तलाई जिम्मा लगायौं पनि’ गृह मन्त्रालयका सहसचिव यादव कोइराला शव व्यवस्थापनको काम अब अगाडि बढिसकेको छ, हामीले जिल्ला दैवी प्रकोप उद्दार समितिलाई निर्देशन दिईसकेको बताउछन । जिल्ला दैवी प्रकोप उद्दार समितिले पनि जिल्ला शव व्यवस्थापन समितिलाई शव व्यवस्थापनको काम अघि बढाउन आवश्यक रकम निकासा गरिसकेको जनाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदी भन्छन ‘ शव व्यवस्थापनका लागि आवश्यक एक लाख ९८ हजार रुपैयाँ निकासा भइसकेको छ, दुई दिन अगावै शव व्यवस्थापनको काम सकिसक्थ्यो, बिचमा तारा एयर र काष्ठमण्डप एयर दुर्घटना भएपछि फोरेन्सिक विभागका डाक्टरहरु त्यता व्यस्त भएकाले दुई चार दिन ढिलाई भएको हो ।’
विपदपछिको शव व्यवस्थापन सम्बन्धी मार्गदर्शन २०६८ ले सनाखत नभएसम्म शवलाई जोगाएर राख्नुपर्ने व्यवस्था गरेको छ । शव व्यवस्थापन सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम पनि पहिचान नभएका शवलाई जलाउन नपाईने प्रावधान भएकाले शव अनिवार्य गाड्नुपर्छ ।

प्रतिक्रियाहरु

[anycomment]