आज महाशिवरात्रि पर्व

२०७२ फाल्गुन २४ गते, सोमबार

काठमाण्डौ ,२४ फागुन । आज हिन्दु धर्मावलम्बीले हर्षोल्लासका साथ महाशिवरात्रि पर्व मनाउँदै छन् । फाल्गुण कृष्ण चतुर्दशीको रातलाई शिवरात्रि मनाउने गरिन्छ । देवाधिदेव महादेवको पूजा, व्रत, होम आदि गरेर यो पर्व मनाइन्छ । आज काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका विभिन्न शिवालयमा ठूलो मेला लाग्ने गर्दछ ।
पशुपतिलगायत शिव मन्दिरहरूमा बिहानै देखि भक्तजनको घुइँचो लागेको छ । शिवरात्रिका दिनमा आज पशुपतिनाथका चारवटै ढोका खोलिएको छ ।
यस दिन पशुपतिनाथलाई दिनमा पञ्चामृत र रातलाई प्रथम, द्वितीय, तृतीय र चतुर्थ प्रहरमा क्रमशस् दूध, दही, घिउ र महले स्नान गराउने परम्परा छ ।
दर्शनका लागि पशुपति आएका सन्त, महन्त, साधु, सन्यासी, उदासी, वैरागीसमेतलाई गुठी संस्थानले शनिबार रातिदेखि बुधबार बिहानसम्म निस्शुल्क भोजनको व्यवस्था गरेको छ । उनीहरूलाई बुधबार बिहानको भोजनसँगै दान, दक्षिणासहित पशुपति क्षेत्र विकास कोषले बिदाइ गर्छ । शिवरात्रिका लागि धुनी जगाउन गुठी संस्थानले निस्शुल्क मुढासमेत उपलब्ध गराउँछ ।
शिवरात्रिकै दिन राजधानीको टुँडिखेलमा नेपाली सेनाद्वारा प्रस्तुत गरिने बढाइँमा राष्ट्रपतिसमेत सरिक हुने परम्परा छ । यस पर्वमा राति दोबाटो, चौबाटो र शिव मन्दिरअगाडि दाउरा बालेर आगो ताप्ने गरिन्छ । त्यसै आगोमा हलुवा, पुरी, तरकारी आदि पकाएर खाने चलन छ ।
यसै दिन ललितपुरस्थित तस् बहालमा रातो मत्स्येन्द्रनाथको मन्दिरअगाडि पनि धुनी बाली आगो ताप्ने गरिन्छ । त्यस अवसरमा ललितपुरका सत्रौं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक राजखड्गलाई राजकीय सम्मानका साथ त्यहाँ र्पुयाइन्छ । राजखड्ग पुगेपछि मत्स्येन्द्रनाथलाई मकै, भटमास, चना र सानो केराउ चढाएर आगो ताप्न आउने सबैलाई प्रसादका रूपमा बाँडिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]