सरकारको गलत काम टुलुटुलु हेरेर बस्दैनौ : देउवा

२०७२ फाल्गुन २८ गते, शुक्रबार

काठमाडौं, २८ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दल सरकार ढाल्ने चलखेलमा नलाग्ने तर सरकारको गलत काम टुलुटुलु हेरेर नबस्ने बताएका छन् । आज आफ्नै निवासमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । उनले सरकार ढाल्न आफ्नो दलले कुनै चलखेल नगर्ने र प्रतिपक्षकै भूमिका निर्वाह गर्ने बताए । उनले वर्तमान सरकार कमजोर जगमा बनेकाले आफैं ढल्ने जिकिर पनि गरे ।
नवनिर्वाचित सभापति देउवाले सरकारको गलत कामको विरोध र राम्रो कामलाई सहयोग गर्ने नीति कांग्रेसको रहेपनि गलत काम गर्दै गए आफूहरु टुलुटुलु हेरेर नबस्ने चेतावनी पनि दिए । उनले आफ्नो पहिलो प्राथमिकता पार्टीलाई व्यवस्थित बनाउन हुने भन्दै आन्तरिक मामिलालाई व्यवस्थित गरेर अघि बढ्ने र लोकतन्त्रलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे । अर्को एक प्रसंगमा सभापति देउवाले प्रधानमन्त्रीले गर्ने भनिएको चीन भ्रमणका विषयमा आफूसँग कुनै छलफल नगरेको बताए । उनले छिमेकी मुलुकहरुसँग राम्रो सम्बन्ध कायम गर्न सरकारलाई सुझाव पनि दिए ।

प्रतिक्रियाहरु

[anycomment]