विराट पेट्रोलियमलाई कारबाही गर्न माग

२०७२ फाल्गुन २८ गते, शुक्रबार

काठमाडौ, २८ फागुन ।अखिल क्रान्तिकारी र वाइसिएलले विराट पेट्रोलियमलाई कारबाही गरी त्यसको अनुमतिपत्र रद्द गर्न सरकारसँग माग गरेका छन् ।
उनीहरुले विराट पेट्रोलियमले आयात गरेको इन्धन महँगोमा बेच्ने माली आयल स्टोर कालिमाटी, भ्याली रिकेश आयल स्टोर गैरीगाउँ र जयन्ती आयल स्टोर त्रिपुरेश्वरलाई सिलबन्दी गरी कारबाही गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
भारतले गरेको नाकाबन्दीका बेला सरकारले निजी व्यवसायीलाई पनि पेट्रोलियम पदार्थ आयात गर्ने अनुमति दिएको थियो । त्यहिँ अनुमतिका आधारमा विराट पेट्रोलियमले आयात गरेको पेट्रोल यी पम्पले प्रति लिटर १ सय ३१ रुपैयाँमा बेचिरहेका छन् ।
नेपाल आयल निगमले पेट्रोलको भाउ प्रतिलिटर ९९ रुपैयाँ तोकेको छ । तर आयल निगमको पेट्रोल सहज नहुँदा विराट पेट्रोलियमको पेट्रोल महँगोमा किन्न उपभोक्ता बाध्य भएका छन् । विज्ञप्ति निकालेर वाइसिएल र अखिल क्रान्तिकारीले देशमा कायम कालोबजारी नियन्त्रण गर्न, अनियमितता र कालोबजारीमा संलग्न निगमको नेतृत्व, संलग्न कर्मचारी र व्यापारीलाई कारबाही गर्न, ग्याँस, पेट्रोल, डिजेल, मट्टितेल लगायतका पेट्रोलियम पदार्थलाई सहज आपूर्ति गर्न पनि माग गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]