हँडिया, जोगिहद वन क्षेत्रमा आगलागी

२०७२ फाल्गुन ३० गते, आईतवार

काठमाडौं, ३० फागुन । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको हँडिया गाविस र जोगिदह गाविसको फुलजोर वन क्षेत्रमा तीन दिनदेखि आगलागी सुरु भएको छ ।
फुलजोर क्षेत्रको महाभारत सामुदायिक वन क्षेत्र र देउराली वन क्षेत्रमा तीन दिनदेखि आगलागी भएको स्थानीयवासी हर्कध्वज खड्काले बताए । फुलजोर क्षेत्रको उत्तरी वन क्षेत्रबाट सुरु भएको आगलागी अहिले स्थानीय गाउँ छेउसम्म आइपुगेका कारण स्थानीय गाउँघरसमेत आगलागीको खतरामा परेको हँडिया देवधारका तेजेन्द्र चौधरीले बताए ।
आगो अहिले फुलजोर क्षेत्रमा झन्डै १० किमी जङ्गलको क्षेत्रफलसम्म चारैतिर फैलिएका कारण यस क्षेत्रका झन्डै ५०० घर आगलागीको जोखिममा परेको स्थानीयवासीले बताएका छन् ।
स्थानीयवासी बद्री थापा भन्छन –‘दुई दिनअघि नै जङ्गलको उत्तरी भागबाट आगलागी सुरु भएछ, आफूहरुलाई आगो फैलिएपछि मात्र थाहा भयो, अब गाउँलेले नियन्त्रण गर्नसमेत कठिन भएका कारण अहिले तीन गाउँ क्षेत्र आगलागीको जोखिममा परेको छ ।’
अहिलेसम्म आगो नियन्त्रणमा जिल्ला वन कार्यालय र स्थानीयवासीको समेत पहल भएको छैन ।
स्थानीयवासीले नै वन जङ्गलमा गएर गाई वस्तु चराउने सुर्ती, बिँडी पिउने र लापर्बाही तथा मनपरी आगो फाल्ने गरेका कारण आगलागी भएको जिल्ला वन कार्यालय उदयपुरले बताएको छ ।
अहिले भइरहेको आगलागी समयमा नै नियन्त्रण नहुने हो भने हँडिया, जोगिदह हुँदै त्रियुगा नगरपालिका क्षेत्रको चप्पन, साउने खाँबु हुँदै सात गाविसको वन क्षेत्रसम्म आगो फैलिन सक्ने स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]