‘जल महल’ संचालनमा
काठमाडौं, ३० फागुन । चचहुई फनपार्क प्रालि पोखराका संचालकहरुले पार्क नजिकै अन्तर्राष्ट्रिय स्तरको पारिवारिक होटल, होटल ‘जल महल’ संचालनमा ल्याएका छन् । आन्तरिक पर्यटकलाई ३० प्रतिशतसम्म छुटसहितको नयाँ प्याकेज तयार गर्दै चचहुईंले पर्यटकलाई तान्ने तयारी थालेको छ । करिव १० रोपनी क्षेत्रफलमा बनाइएको यस होटलमा २.५ रोपनी क्षेत्रफलमा फैलिएका इन्फिनिटी डिप पुल, फ्यामिलि स्प्ल्यास पुल र किड्स पुल गरी तीन थरिका स्विमिङ्ग पुल रहेका छन् । ती पुलहरुमा १ वर्षका बालबालिकादेखि वयस्क र वृद्धवृद्धाले समेत ढुक्कसँग पौडीको मनोरञ्जन लिन सक्छन् । यति ठूलो क्षेत्रफलमा फैलिएका यस्ता स्विमिङ्ग पुलहरु भएको पारिवारिक होटल नेपालमै एक मात्र रहेको संचालक डा दिनेश प्रसाईंले बताए । उनले विदेशी तथा स्वदेशी पाहुनालाई पोखरा घुम्न थप लालायित गरोस भन्ने उद्देश्यले यस्तो प्याकेज तयार पारेको बताए ।
यस होटलमा डिलक्स, सुपर डिलक्स, जलमहल प्रिमियम र कनेक्टिङ्ग गरी चार थरिका सुविधासम्पन्न ३६ कोठाहरु रहेका छन् । जल महल प्रिमियम रुमहरुका बालकोनी सिधै इन्फिनिटि डिप पुलसँग जोडिएका छन् । यहाँ रहेका सवैै कोठा वा कोठाका बालकोनीबाट पुल र गार्डनका साथै धौलागिरि, अन्नपूर्ण वा मनास्लु हिमश्रिखंलाका मनोरम दृश्य देख्न सकिने छ । विहानको समयमा यहाँका स्विमिङ्ग पुल, रेष्टुराँ र केही कोठाका झ्यालहरुमा यिनै हिमश्रिखंलाका प्रतिविम्वहरु देख्न सकिने छन् भने रातको समयमा विशेष लाइटिङ्ग इफेक्ट समेत देख्न सकिन्छ ।
अन्तर्राष्ट्रिय पाहुनाहरुको लागि डिलक्स् रुमको मूल्य प्रति कोठा प्रति रात ५० यूएस डलर, सुपर डिलक्स् रुमको लागि ७५ डलर, जलमहल प्रिमियमको लागि १०० डलर र कनेक्टिङ्ग रुमको लागि १२५ डलर रहेका छन् ।
आन्तरिक पर्यटकका लागि यी मूल्यहरुमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको छ । यी मूल्यमा दुई जनासम्म वयस्क र दुई जनासम्म १० वर्ष मुनिका बालबालिकाका लागि डवल वेड र एक्स्ट्रा वेड, व्रेकफास्ट , स्विमिङ्ग र बालबालिकाका लागि चचहुई फनपार्कको रु पाँचसय बराबरको कम्प्लिमेन्टरी टिकट समेतको सेवा उपलब्ध हुनेछ ।
होटलमा १५० जना क्षमता भएको कन्फरेन्स हल र फ्यामिलि वा कर्पोरेट इभेन्टस्का लागि गार्डेन लनको समेत व्यवस्था रहेको छ । होटलका डिलक्स् रुमहरुको बुकिङ्ग पूर्ण रुपमा खुला गरिसकिएको छ भने अन्य किसिमका कोठाहरु नया वर्ष २०७३ अगावै तयार भइसक्ने अर्की संचालक प्रतिक्षा क्षेत्रीले बताइन् । नयाँबर्ष मनाउनेहरुका लागि सुविधा उपलब्ध गराउने उदेश्यले यस्तो प्याकेज तयार पारेको उनले बताइन । होटलको अग्रिम बुकिङका लागि अनलाईनको सहायता लिन सक्ने व्यवस्था गरेको छ ।