होली पर्व सुरु
काठमाडौं, ३ चैत । आज काठमाडौंको हनुमानढोकाको दक्षिणतर्फ बसन्तपुरमा तीन तले चीर ठड्याएर होली पर्व सुरु गरिँदैछ । चीर ठड्याउन नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान ७ बजेर ४७ मिनेटको साइत जुराएको छ । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याएसँगै मुलुकभर होलीको माहोल सुरु हुन्छ । बसन्त ऋतुको स्वागतसँगै साताव्यापी रुपमा होली खेल्ने चलन छ ।
बसन्त ऋतुको आगमनसँगै मनाइने भएकाले यस पर्वलाई वसन्तोत्सव वा मदनोत्सवका रुपमा लिइन्छ ।
आपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र बसन्त राग गाउँदै नाच्दै अविर लगाएर शुभकामना आदानप्रदान गरिन्छ । पूर्णिमाको रातमा चीर ढालेर टुंडिखेलमा पुर्याई दाह गरेपछि होली पर्व समाप्त हुन्छ । यसको भोलिपल्टबाटै बसन्त ऋतु प्रारम्भ हुन्छ ।