लादेनलाई हेटौँडा पुर्याइयो

२०७२ चैत्र ३ गते, बुधबार

काठमाडौं, ३ चैत । हिजो बिहान जिल्ला प्रहरी कार्यालय पुग्दा धनकुटाका स्थानीयवासी रोहित न्यौपाने आश्चर्यचकित भए । कारण थियो, मानसिक सन्तुलन बिग्रिएर करिव दुई दशकअघि देखि धनकुटा बजारमा बेवारिसे भएर बस्दै आएका ‘लादेन’सँगको अनौठो भेट । न्यौपाने मात्र हैन मङ्गलबार लादेनलाई भेट्ने धनकुटाका जो कोही पनि आश्चर्यचकित हुन्थे । बाह्रै महिना घुँडासम्म लामो झुत्रे ज्याकेटसहित हेर्दै फोहोर र घिनलाग्दा कपडा लगाएर बजारमा प्लास्टिक बटुल्दै हल्ला गर्दै हिँड्ने ‘लादेन’ सफा कपडामा चिटिक्क भएर उपरखुट्टी लगाएर प्रहरी कार्यालयमा बसेको देख्दा सबैलाई आश्चर्य लाग्नु स्वाभाविक थियो ।
भारतको विहार घर भएका ‘लादेन’ भनिने शम्भुनाथ शाह मानसिक सन्तुलन गुमाएर विगत लामो समयदेखि धनकुटा बजारमा बस्दै आएका थिए । फोहोरले दुर्गन्धित भएर सधैँ बजारमै घुमिरहने भएकाले धनकुटामा बसोबास गर्ने बालबालिकादेखि वृद्धवृद्धासम्म अधिकांशले चिन्ने व्यक्ति हुन् ‘लादेन’ । झन्डै दुई दशकदेखि दिनरात झँै धनकुटा बजारमा बेवारिसे भएर घुम्दै आएका ‘लादेन’लाई नुहाएर सफा र चिटिक्क पारेर हेटौँडास्थित मानव सेवा आश्रम लगिएको हो ।
सधँै दुर्गन्धले छेउमा बस्नै नसकिने अवस्थाको व्यक्ति आश्चर्यजनकरुपमा सफा र चिटिक्क भएर सामान्य मानिस झँै देखिँदा सबै अचम्ममा परेका हुन् । समाजसेवी द्रोण गुरागाईंको पहल र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक विभूतिराज पाण्डेको सहयोगमा उनलाई उद्धार गरेर आश्रम लगिने भएको हो ।
आश्रम लैजाने भएपछि लादेनलाई सल्लेरीनजिक भेटेर प्रहरीको गाडीमा हाली सरसफाइका लागि प्रहरी कार्यालय ल्याइएको थियो । प्रहरीको गाडीमा बस्न आग्रह गर्दा ‘लादेन’ मानेनन् । “लादेनलाई जबर्जस्ती उठाएर गाडीमा राखेर अफिसमा ल्याई नुहाईधुवाई गरेर सफा ग¥यौँ”, प्रहरी हबल्दार गायत्री दुलालले भने, “सरसफाइ गरेर चिटिक्क बनाई खाना खुवाएपछि भने लादेन पनि मक्ख भए, सधैँ फोहोरी भएर कराउँदै हिँड्ने मान्छे चिटिक्क भएको देख्दा हेर्ने मान्छेहरु पनि छक्कै परे ।”
सरसफाइ गरिसकेपछि लादेनलाई बजार पनि घुमाइएको थियो । जिल्ला प्रहरी कार्यालयदेखि प्रहरीको गाडीमा राखेर बसपार्क पु¥याई प्रहरी हबलदार बिनोद खाँ थारूको साथमा लादेनलाई बसमा राखेर हेटौँडास्थित आश्रम पठाइयो । हिँड्ने बेलामा लादेन बाईबाई गर्दै गाडीमा बसेका थिए ।
मागेर खाई पेट पाल्दै आएका लादेनले अरूले दिएको पैसा केटाकेटीलाई बाँड्ने गर्थे । गोजीमा गिलास बोकेर मागी खाँदै हिँड्ने लादेन मानसिक सन्तुलन ठीक नभए पनि इमान्दार थिए । के खाने र कहाँ बस्ने टुङ्गो नभई बेवारिसे झँै बजारमा घुम्दै आएका लादेन कष्टपूर्ण जीवन बिताउँदै आएका थिए । बजारमा बेवारिसे भएर बसेको देख्दा दया लागेर लादेनलाई उद्धार गरी आश्रम पठाइएको समाजसेवी द्रोण गुरागार्इंले बताउनुभयो । – रासस

प्रतिक्रियाहरु

[anycomment]