सार्क विदेश मन्त्री स्तरीय बैठक सुरु

२०७२ चैत्र ४ गते, बिहीबार

काठमाडौ, ४ चैत । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को ३७ औं विदेश मन्त्री स्तरीय बैठक आजबाट सुरु हुदैछ । मिनि सार्कका रुपमा लिइने बैठकमा सहभागि हुन सबै सदस्य राष्ट्रका विदेश मन्त्री एवं प्रतिनिधिहरु हिजै पोखरा आइसकेका छन् । बैठकको उद्घाटन प्रधानमन्त्री केपी शर्माले आज बिहान १० बजे गर्ने कार्यक्रम रहेको छ । सार्कका ८ सदस्य राष्ट्र मध्य ६ देशका विदेश मन्त्री र अफगानिस्तानबाट उपविदेशमन्त्री तथा पाकिस्तानका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार बैठकमा सहभागि हुन लागेका हुन् ।
बैठकमा नेपालका उपप्रधान एबं परराष्ट्र मन्त्री कमल थापासहित भारतीय विदेश मन्त्री सुष्मा स्वराज, श्रीलंकाली विदेशमन्त्री मंगला समरावेरा, बंगलादेशका विदेशमन्त्री अबुल हसन मोहमद अली, भुटानका विदेशमन्त्री डामचो दोर्जी, माल्दिभ्सका विदेशमन्त्री डुनया मौमुन, अफगानिस्तानका उपविदेशमन्त्री हिक्मत खालिद कार्जाई र पाकिस्तानका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सर्ताज अजिजको सहभागिता रहनेछ ।
यसअघि ५२औं कार्यक्रम समिति बैठक हुँदै ४२ औं सचिव स्तरीय बैठकबाट पारित भएका एजेण्डामाथि आजको मन्त्री स्तरीय बैठकमा छलफल हुने कार्यसूची रहेको छ । साथै सदस्य राष्ट्रहरु आ आफ्नो देशका एजेण्डा टेवुल गर्ने र त्यसमाथि छलफल गर्नेछन् । विदेशमन्त्री स्तरीय बैठकलाई मध्यनजर गर्दै केही दिनदेखि पोखराको सुरक्षा व्यवस्था कडा पारिएको छ । बैठकस्थल पोखराको पादीस्थित होटल ग्राण्डमा देश तथा विदेशका पत्रकारहरुको भीड लागेको छ ।

प्रतिक्रियाहरु

[anycomment]