राजकुमार ह्यारी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दै
काठमाडौं, ७ चैत । नेपालको पाँच दिने औपचारिक भ्रमणमा आएका बेलायती राजकुमार ह्यारीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्दैछन् । राजकुमार ह्यारीले बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शितल निवासमा शिष्टाचार भेट गर्नेछन् । राजकुमार ह्यारीले आजै भूकम्पबाट क्षतिग्रस्त पाटन दरबार स्क्वायरका मन्दिर र भवनहरुको पुनर्निर्माणबारे जानकारी लिनेछन् ।
यस क्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार क्षेत्रमा रहेको ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थलको अवलोकन गरी भूकम्पबाट भएको क्षतिबारे जानकारी लिनेछन् ।
त्यसपछि बेलुकी ५ बजे भक्तपुर दरवार स्क्वायरमा पुगेर त्यस क्षेत्रको अवलोकन तथा भूकम्प पीडितसँग भेट गर्ने कार्यक्रम छ । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुगेको अवसर पारेर बेलायतकी महारानीका प्रतिनिधिका रुपमा पहिलो पटक नेपाल आएका राजकुमार ह्यारीले शनिबार प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका थिए ।