पोखरा अन्तर्राष्ट्रिय पर्यटनको विशिष्ट केन्द्र बन्ने
काठमाडौ , ९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धी ऋण सम्झौतामा हस्ताक्षर भएसँगै पोखरेलीको ४० वर्षदेखिको सपना साकार हुने भएको छ । चार दशकयता चासो र चर्चाको विषय बने पनि निर्माण सम्बन्धी काम अघि नबढ्दा निराश बनेका पोखरेलीमा चीन सरकारसँग हिजो भएको सम्झौताले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने आशा एवम् विश्वास पलाएको छ । प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा विमानस्थल निर्माण सम्बन्धी भएको सम्झौताले प्रत्येक पोखराका स्थानीयवासी, पर्यटन, उद्यमी, एवम् व्यवसायीलाई हर्षित बनाएको पोखरा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत झलकराम अधिकारी बताउनुहुन्छ ।
“पोखरेली जनताको ४० वर्षदेखिको सपना अब साकार हुने अवस्थामा पुगेको छ,” उहाँले भन्नुभयो, “अब निर्माणका कामलाई तीव्र रुपमा अघि बढाएर समयमै सम्पन्न गर्नुपर्छ । प्राकृतिक रुपमा अत्यन्त सुन्दर पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै सिधै बाह्य पर्यटक यहाँ आउन सक्ने बताउँदै अधिकारीले पोखरा अन्तर्राष्ट्रिय पर्यटनको विशिष्ट केन्द्र बन्ने बताउनुभयो ।
विमानस्थल निर्माणका लागि ठूलो रकम पोखरामा लगानी हुने भएकोले त्यसले यहाँको अर्थतन्त्र पनि चलायमान गराउने उहाँको भनाइ छ । सम्झौताअनुसार चीन सरकारले नेपाललाई सो विमानस्थल निर्माणका लागि रु २१ अर्ब ऋण दिने भएको छ । सहुलियतपूर्ण ऋण सम्झौतामा नेपालका तर्फबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हस्ताक्षर गर्नुभएको छ ।
कुल ऋणमध्ये ७५ प्रतिशतको नेपालले दुई प्रतिशतको हाराहारीमा ब्याज तिर्नुपर्नेछ भने बाँकी २५ प्रतिशतको कुनै ब्याज लाग्नेछैन । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल अत्यावश्यक भए पनि लामो समयसम्म निर्माणको प्रक्रिया अघि बढ्न नसकेका अवस्थामा हिजो भएको सम्झौताले सबैमा आशा जगाएको पर्यटनविद् निलकण्ठ शर्मा बताउनुहुन्छ ।
अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै पर्यटक सिधै पोखरा आउनसक्ने हुँदा त्यसले यहाँको पर्यटकीय विकासलाई थप उँचाइमा पु¥याउने उहाँको तर्क छ । विमानस्थल निर्माणसँगै यहाँका पर्यटकीय पूर्वाधारलाई विकास गदै लैजानुपर्ने शर्मा बताउनुहुन्छ । केही दिन अघि मन्त्रिपरिषद्को बैठकले उक्त विमानस्थल निर्माण कार्य अगाडि बढाउने निर्णय गरेको थियो ।
चिनियाँ ठेकेदार कम्पनी सिएमसीले प्रारम्भिक रुपमा कामसमेत सुरु गरिसकेको छ । सम्झौतापश्चात तीन महिनाको अवधि तयारीका लागि लाग्नेछ । सरकारले केही समयभित्रै विमानस्थलको शिलान्यास गर्नेछ । लामो समयदेखि रहँदै आएको जग्गाप्राप्ति एवम् मुआब्जा वितरणको कामसमेत लगभग सम्पन्न भएका कारण पनि निर्माण कार्य अब तीव्रताका साथ अघि बढ्ने सरोकारवाला बताउँछन् ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नु यस क्षेत्रका लागि महत्वपूर्ण अवसर भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाको भनाइ छ । लामो समयको प्रतिक्षापछि पोखरेली जनताको सपना साकार हुन लागेको बताउँदै उहाँले पर्यटकीय राजधानीका रुपमा पोखरालाई विकास गर्ने सोच अब सफलताको विन्दुमा उन्मुख बनेको छ ।
“अनवरत रुपमा गरिएको प्रयासबाट पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने पक्कापक्की भएको छ,” उहाँले भन्नुभयो, “निर्धारित समयभित्रै निर्माण सम्पन्न गराउन सबैको सकारात्मक प्रयास आवश्यक छ ।” थापा जस्तै ‘रेस्टुराँ एण्ड बार एसोसिएसन रेवान’ पोखराका अध्यक्ष गोपिबहादुर भट्टराई अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनु पोखरालगायत यस आसपासका पर्यटकीय क्षेत्रको विकासका लागि महत्वपूर्ण उपलब्धि हुने बताउनुहुन्छ ।
“यहाँका पर्यटकीय पूर्वाधारको विकासलाई पनि सरकारले प्राथमिकता दिनुपर्छ” भट्टराईले भन्नुभयो । छोटो समयको यात्राका लागि हवाई यातायात नै सबैको पहिलो रोजाइ हुन्छ । त्यसैले अन्तर्राष्ट्रियस्तरका पर्यटकलाई सिधै पोखरा आउने वातावरणका लागि विमानस्थल बहुउपयोगी बन्छ । पर्यटकले आफ्नो भ्रमणका क्रममा छोटो दुरीमा पर्ने अन्तर्राष्ट्रिय विमानस्थलबारे बुझ्ने गरेका छन् ।- रासस