अलैंचीको मूल्य ओरालो लाग्यो
काठमाडौं, १३ चैत। कालो सुनको उपनामले चिनिने अलैंचीको मूल्य दैनिक ओरालो लाग्न थालेको छ । लगातार तीन बर्ष नाफा कमाएका पूर्वका अलैंची ब्यापारी यस वर्ष भने संकटमा परेका छन् । अहिलेकै मूल्य स्थिर रहे धेरै ब्यापारीले अहिलेसम्म कमाएको नाफा गुमाउने भएका छन् । बिर्तामोडमा प्रतिटन ९७ हजार मूल्य परेको अलैंचीको भाउ घटेर ७२ हजारमा झरेको अलैंची ब्यवसायी संघका अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए ।
अलैंचीको भाउ बढ्ने आशामा ब्यापारीले भने गोदाममा थन्क्याएर राखेका छन् । नेपालमा उत्पादन हुने सबै अलैंची सिलगुडी, जोगबनी हुँदै भारतको नयाँ दिल्लीसम्म पुग्ने गरेको छ । कृषि सूचना तथा सञ्चारको तथ्यांक अनुसार नेपालमा बार्षिक १२ हजार मेट्रिक टन अलैंची उत्पादन हुँदै आएको छ ।