अटिजम भएको थाहा पाउन १५ वर्ष लाग्यो…
काठमाडौँ, २१ चैत । जन्मँदा सामान्य रुपमा जन्मिएको छोरा व्यवहार सामान्य बच्चाको जस्तो नहुँदा गोरखा ताप्ले गाविस–२ की निर्मला श्रेष्ठले निकै दुःख पाइन । के कारणले छोराको शारीरिक विकाससँगै बोली संवादको विकास नभएको हो भनी उनीहरुलाई थाहा पाउन पनि कठिन भयो । अरु बच्चाले जस्तो दोहोरो संवाद नगर्ने, आफ्नो उमेर समूहका बालबालिकासँग नखेल्ने, घाउ, चोटपटक तथा दुःखाइप्रति वास्ता नगर्ने गरेपछि उनले उमेर बढ्दै गर्दा ठीक होला भनी बसेको सम्झन्छिन । उनले भनिन– ‘‘बाबुको यस्तो व्यवहार के हो भनी थाहा पाउन हामीलाई १५ वर्ष लाग्यो । स्कुल भर्ना गरेपछि पनि उसको व्यवहार असामान्य भएपछि त्यहाँ भर्ना लिन मानेनन् । पछि हामीले टिचिङमा देखाएपछि अटिजम भएको पत्ता लागेको हो ।’ अहिले उनको छोराको उमेर १८ वर्ष भएको छ ।
यस्तै भोगाइ छ अञ्जना महराको पनि । आफ्नो कान्छो बच्चाको उमेर वृद्धिसँगै हुनुपर्ने शारीरिक विकास भए पनि संवाद नगर्ने, एक्लै बस्ने, बोलाउँदा वास्ता नगर्ने भएपछि चिकित्सकलाई देखाउँदा अटिजम भएको पत्ता लागेको अनुभव सुनाउँछिन ।
तीन वर्षको हुँदा उहाँले छोरालाई अटिजम भएको थाहा पाएपछि विशेष ख्याल राखेको बताउनुभयो । हाल उहाँको छोराको उमेर १४ वर्षको छ ।
जापानमा बस्दा जन्मेको छोराको वृत्तिविकास नभएपछि सुनिता प्याकुरेल छोरालाई लिएर नेपाल फर्किएको अनुभव सुनाउछिन । पेसाले नर्स भए पनि उनले बच्चाको अवस्थाकै कारण दिल्लीमा गएर यस्ता व्यक्तिलाई गरिने व्यवहारसम्बन्धी विशेष तालिम लिएर आइन । उनी अहिले समाजमै सहयोगी प्रशिक्षकका रुपमा काम गरिरहेकी छिन् ।
घरपरिवार, समाजले यस्ता व्यक्तिलाई गर्ने व्यवहारले निकै समस्या पारेको अटिजम भएका अभिभावकको भनाइ छ । कतै लिएर हिँड्न पनि समस्या छ । कतिले यस्ता व्यक्तिलाई पागल भनी भन्दा अभिभावकको मन निकै दुख्ने गरेको पनि अनुभव छ निर्मलाको ।
अटिजम स्नायु प्रणालीको असन्तुलनबाट उत्पन्न भएको विकासक्रम अवरोधसम्बन्धी जन्मजात रोग हो । अथवा अटिजम जन्मजात लिएर आउने एक विशेष प्रकारको अपाङ्गता हो ।
यसलाई मस्तिष्क विकासको विकार भनिन्छ । यसले मस्तिष्कको सामान्य कार्यहरुलाई प्रभावित पार्दछ । यो बच्चा तीन वर्षको हुँदा प्रष्ट रुपमा थाहा पाउन सकिन्छ र जीवनभर रहन्छ । यसका लक्षण फरक फरक किसिमका हुन्छन् ।
तर मुख्य तीन कारण भने बुझ्न र प्रयोग गर्न कठिनाइ, सामाजिक सीप बुझ्न र प्रयोग गर्न कठिनाइ र दोहोर्याएर गर्ने व्यावहारिक समस्या तथा सोच्न सक्ने क्षमतामा एकरुपता नहुनु हुन् । यसको कुनै मेडिकल उपचार नभएकाले विशेष थेरापी नै यसको उपचार विधि हो
अटिजम मानसिक र बौद्धिक अपाङ्गता नभए पनि ४० प्रतिशत अटिजम भएका व्यक्तिमा बौद्धिक कमजोरी भने देखिएको बताउनुुहन्छ अटिजम केयर नेपाल समाजका अध्यक्ष डा सुनिता मलेकु अमात्य ।तर उनीहरुलाई दैनिक व्यवहार, आचरणसम्बन्धी विशेष थेरापीको आवश्यकता भएको चिकित्सकको भनाइ छ ।
उनी भन्छिन् – ‘अटिजम भएका मानिसहरु असहज व्यवहारका कारण अटिजम रोगीहरु सामाजिक रुपमा सामान्य जीवन बिताउन सक्दैनन् । उनीहरुलाई विशेषखालको स्याहार र व्यवहारको खाँचो पर्दछ ।’
अजिटम केयर नेपाल समाज यस्तै समस्या भएका बालबालिकाका अभिभावकद्वारा सञ्चालित एक क्रियाशील संस्था हो । यसले नेपालमा अटिजम भएका व्यक्ति र उनका अभिभावकलाई यसबारे विभिन्न तालिम, थेरापीबारे ज्ञान र जानकारी प्रदान गर्दै आएको छ ।
यस संस्थामा महिनामा ६० देखि ८० जनासम्म बालिबालिका थेरापीका लागि आउने गरेको अध्यक्ष डा अमात्यले बताइन् ।
हालसम्म अटिजम रोकथामका लागि कुनै ठोस विधि पत्ता लागेको छैन । अटिजमको कुनै निदान नभए पनि सही थेरापीद्वारा उनीहरुको अवस्थामा धेरै सुधार ल्याउन सकिने बताउँछिन समाजका अभिभावक प्रशिक्षक कृपा श्रेष्ठ ।
अटिजमको कुनै आधिकारिक तथ्याङ्क नभए पनि नेपालमा सबै उमेर समूहका गरी तीन लाख अटिजम भएका व्यक्ति हुन सक्ने बताउँछिन् अध्यक्ष डा अमात्य ।
संयुक्त राष्ट्र सङ्घले सन् २००८ अप्रिल २ तारिखलाई ‘विश्व अटिजम जनचेतना दिवस’का रुपमा मनाउने निर्णय गरेको छ । यो सचेतना दिवस नेपालमा पनि मनाउने गरिएको छ । -कल्पना पौडेल, रासस