नयाँ बजेटबारे छलफल थालिँदै
काठमाडौं, २१ चैत । राष्ट्रिय योजना आयोगले आज चैत २१ देखि २८ गतेसम्म आगामी आर्थिक वर्ष ०७३–०७४ को बजेटबारे सम्बन्धित मन्त्रालयहरुसँग छलफल गर्ने भएको छ । छलफलमा सबै मन्त्रालयले कार्यक्रम प्रस्ताव पेस गर्ने र त्यसपछि योजना आयोगले मन्त्रालयगत बजेटको अन्तिम सिलिङ तोक्ने आयोगका प्रवक्ता तुलसी गौतमले जानकारी दिए । छलफलमा योजना आयोगले आयोगको लक्ष्य अनुसारका कार्यक्रमहरु छन् कि छैनन् भनेर हेर्ने र अर्थ मन्त्रालयले तोकिएको सिलिङभित्र रहेर वित्तीय स्रोतको व्यवस्थापन गर्ने गौतमले जानकारी दिए । आयोगका क्षेत्रगत हेर्ने सदस्यहरुले आ–आफ्नो क्षेत्रसँग सम्बन्धित मन्त्रालयका अधिकारीहरुसँग नयाँ बजेट र त्यसका कार्यक्रमबारे छलफल गर्नेछन् । ‘सबै मन्त्रालयले बजेटभन्दा बढीका कार्यक्रमहरु प्रस्तुत गर्छन्, जसमा आयोगको प्राथमिकताका आधारमा कार्यक्रमहरु तय गरिन्छ र सोहीअनुरुप अर्थ मन्त्रालयले वित्तीय स्रोतको व्यवस्था गर्छ,’ गौतमले भने । योजना आयोगले आगामी आर्थिक वर्षका लागि ९ खर्ब ९ अर्ब रुपैयाँ बराबरको सिलिङ तोकिसकेको छ । चालू आर्थिक वर्षको बजेटको आकार भने ८ खर्ब ८ अर्ब १९ करोड रुपैयाँको छ ।