झाडापखाला नियन्त्रण गर्न जनस्वास्थ्यकर्मीको माग
काठमाडौँ , २३ चैत्र । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घले जाजरकोटमा देखिएको झाडापखाला नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । महासङ्घका अध्यक्ष डम्बर रावलले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै एसएलसी परीक्षा केन्द्रमै झाडापखाला लागेकोले समयमै नियन्त्रण गर्न नसके महामारीको रूप लिने भन्दै समयमै नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । “जाजरकोटको दसेरा लगायतका गाउँमा देखिएको झाडापखालालाई समयमै नियन्त्रण नगरे यसले विगतमा झैं महामारीको रूप लिन सक्छ, विज्ञप्तिमा अगाडि भनिएको छ, “सरकार रोग सुरुवात हुँदा नियन्त्रण गर्ने पहल गर्दैन जसका कारण रोगले महामारीको रुप लिई नियन्त्रण भन्दा बाहिर जान्छ ।”
अध्यक्ष रावलले विज्ञप्तिमा समयमै रोगको नियन्त्रण गर्न औषधि तथा उपकरणसहित दक्ष स्वास्थ्यकर्मीलाई प्रभावित क्षेत्रमा तुरुन्त पठाउँन सरकारसँग माग गरेका छन् ।
उनले आफ्ना संगठनमा आवद्ध स्वास्थ्यकर्मीहरुलाई प्रभावित क्षेत्रमा गएरउपचारमा जुट्न निर्देशन दिएका छन् । रावलले सम्बन्धित सरोकारवाला सबैलाई रोग नियन्त्रणको लागि पहल गर्न आग्रह समेत गरेका छन् ।