शेयर किन र बेचमा स्वचालित प्रणाली लागु गर्न निर्देशन
काठमाडौँ, २५ चैत । धितोपत्र बोर्डले शेयर किन र बेचमा स्वचालित प्रणाली लागु गर्ने तयारी थालेको छ । स्वचालित प्रणाली लागू भएपछि शेयर किनेको र बेचेको रकमको राफसाफ चार दिन भित्र गरिसक्नु पर्दछ । शेयर किन र बेच स्वचालित प्रणाली अनुसार हुनुपर्नेमा सो नभएको भन्दै धितोपत्र बोर्डले सबै शेयर दलाल र लगानीकर्ताहरुलाई पूर्ण स्वचालित प्रणाली अनुसार गर्न निर्देशन गरेको छ । स्वचालित कारोबार प्रणाली लागु भएपछि शेयर किनबेच भएको तीन कार्य दिन अर्थात चौथो दिन भित्रमा राफसाफ हुनुपर्नेमा सो नभएको गुनासो आएपछि बोर्डले तीन वटा शेयर दलाल कम्पनीको कार्यालयमा निरीक्षण गरेको जनाईएको छ ।
बोर्डले क्रिष्टल कन्चनजंघा सेक्युरिटिज ब्रोकर नं ५०, कालिका सेक्युरिटिज ब्रोकर नं ४६ र प्राईमो सेक्युरिटिज ब्रोकर नं १६ को कार्यालयमा निरीक्षण गर्दा चौथो दिनमा शेयर बेचेको रकमको भुक्तानी नभएको पाईएको बिज्ञप्तिमार्फत जनाएको छ । यी तीन वटा शेयर दलाललाई अब आईन्दा स्वचालित प्रणाली अनुसार भुक्तानी गर्न निर्देशन दिदै अन्य शेयर दलालहरुलाई पनि पूर्ण स्वचालित कारोबार प्रणाली अबलम्बन गदै लगानीकर्तालाई प्रत्यक्ष फाईदा उपलब्ध गराउन बोर्डले भनेको छ ।
शेयर बेचेको रकम कयौ. दिनसम्म आफुले नपाएको भन्दै केही लगानीकर्ताहरुले उजुरी गरेपछि बोर्डले अनुगमन सुरु गरेको थियो । बोर्डले अब अरु शेयर दलालको कार्यालयमा पनि अनुगमन गर्ने संकेत दिएको छ । त्यसैगरी केही शेयर दलालहरुले आफुले शेयर किनिदिँदा लगानीकर्ताले समयमै रकम भुक्तानी नगर्दा समस्या भोग्नु परेको गुनासो गर्दै आएका छन् । यसरी समयमै रकम भुक्तानी नगरेमा शेयर किन्ने लगानीकर्तालाई जरिवाना हुने प्रावधान छ भने शेयर बेच्दा बेचिएको शेयर कित्ता डिम्याट खातामा नभएमा पनि जरिवाना लाग्ने छ ।