संवैधानिक परिषदको बैठक निष्कर्षविहीन
काठमाडौं, २६ चैत । संवैधानिक परिषद्को आजको बैठक विनानिष्कर्ष टुंगिएको छ । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको कार्यव्यस्तताका कारण निष्कर्षविहीन भएको हो । बैठकमा देउवाले कांग्रेस संसदीय दल कार्यसमितिको निर्वाचनका कारण बैठकमा आफूले धेरै समय दिन नसक्ने भन्दै स्थगित गर्न आग्रह गरेका थिए ।
बैठकमा थप छलफलसमेत गर्नुपर्ने भएकाले आइतबारसम्मका लागि स्थगित गरिएको कानुन मन्त्री अग्नी खरेलले जानकारी दिए ।
बैठकले प्रधानन्यायाधीशमा नियुक्तिका लागि वरिष्ठ न्यायाधीश सुशीला कार्कीलाई सिफारिस गर्ने बताइएको थियो । हालका प्रधानन्यायाधीश कल्याण श्रेष्ठ यही चैत ३० गतेदेखि अवकाश पाउने भएकाले संवैधानिक परिषद्ले वरिष्ठताका आधारमा कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्न लागेको छ ।