बालुवा चालेर गुजारा !
काठमाडौँ, २६ चैत । कञ्चनपुरको महाकाली नदी किनार बस्तीका स्थानीय बासिन्दा गिट्टी, बालुवा चालेर आफ्नो गुजारा गर्न बाध्य भएका छन् । नदीमा आएको बाढीले खेतमा बालुवा थुपारेपछि अन्न उत्पादन नहुँदा उनीहरु गिट्टी, बालुवा चालेर गुजारा गर्न बाध्य भएका हुन् ।
महाकालीमा आउने बाढीले हरेक वर्ष नदी किनारमा रहेका सयौं बिघा उब्जाउ जमिनमा बालुवा थुपार्ने गरेको छ । बाढीका कारण खेतमा अन्न उत्पादन हुन छोडेपछि विगत ३ वर्षदेखि बालुवा, गिट्टी चालेर गुजारा गर्दै आएको उनीहरुको दुखेसो छ ।
नदी किनारमा तटबन्ध नहुँदा हरेक वर्ष महाकाली नदी बस्तीमा पस्ने गर्छ भने बाढीकै कारण सो क्षेत्रमा पर्नै भुजेला, ऐरी, ओदाली बडैपुर र पिपरैयाका बस्तीको अधिकांश उब्जाउ जमिन कटान गरेको र बाँकी रहेको खेतमा बालुवा थुपार्दा स्थानीय बासिन्दालाई झनै समस्या पर्ने गरेको पीडितहरुको भनाइ छ ।