अझै पनि तानेरै बिहे !
काठमाडौँ, २७ चैत । गोर्खा हिमाल पारीको गाविस बिही–९ ड्याङकी २४ वर्षीय युवती हुन् पेमा लामा । उनी अहिले मानसिक तनावमा छिन् । वैदेशिक रोजगारीमा पाँच वर्ष लेबनानमा बसेर फर्केकी उनलाई युवा समूहले राति जबर्जस्ती घरबाट तानेर लगी दुईजनाको पत्नी भएको घोषणा गरिएको छ । यो त्यहाँको सामाजिक परम्परा भए पनि त्यसलाई सहजै स्वीकार्न उनको मन तयार छैन ।
दुई महिनाअघि उनी लेबनानबाट गाउँ फर्किएकी हुन् । गाउँ फर्किएको चारदिन मात्र भएको थियो । राति पेमा घरमै सुतिरहेकी थिइन् । एक्कासी आठ–दस जनाको दलबल आएर उनलाई तान्न थाले । आधा रात रोइ–कराई गरिन् तर उनको चित्कार सुन्ने कसले ? बलिया केटाले उनलाई जबरजस्ती काँधमा हाले । बोकेर क्रो पुर्याए । क्रो बिही गाविसको १ नम्बर वडामा पर्छ ।
पेमालाई केटाका बा–आमाले चौरीको घिउको टिका लगाइदिए । आशीर्वाद दिँदै घोषणा गरे, ‘फुर्बु र छेवाङ दुई भाईकी श्रीमती भयौ ।’ त्यहाँको रीति अनुसार पेमा जबरजस्ती दुई भाइकी साझा पत्नी घोषित भइन् । – अन्नपूर्ण पोष्ट दैनिकबाट