सिके राउतलाइ भेटेको समाचार झूटो र कपोलकल्पित
काठमाडौं, २९ चैत्र । नयाँ शक्रि नेपालले पत्रपत्रिकाहरुमा ‘डा. बाबुरामले सिके राउतलाई भेटे’ भन्ने व्यहोराको समाचार प्रकाशन गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नयाँ शक्रि नेपालका प्रवक्ता खिमलाल देवकोटोले एक वक्तव्यमार्फत भनेका छन्–सो समाचार झूटो र कपोलकल्पित भएको व्यहोरा स्पष्ट पार्न चाहन्छौं । वक्तव्यमा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले अधिकांश भेटघाट बबरमहलस्थित पार्टीको केन्द्रीय कार्यालयमा गर्दै आउनुभएको छ र सानेपास्थित निवासमा राजनीति भेटघाट नगर्ने, गर्नुपर्दा पनि एक्लै भेटघाट नगर्ने र सामूहिक भेटघाट गर्ने प्रचलन आरम्भ गर्नुभएको छ भनिएको छ ।
वक्तव्यमा मधेस र पहाडलाई एकअर्र्काको विरोधीको रुपमा चित्रित गर्ने सत्ताधारी दलहरुको प्रतिवाद गर्दै मधेसी–थारु, आदिवासी–जनजाति र खस–आर्य तीनवटै क्लस्टरकाबीच सद्भाव र मजबुत एकता कायम गर्दै राष्ट्रिय एकता सबल बनाउने अभियानमा नयाँ शक्ति नेपाल लागि परेको छ उल्लेख छ ।
वक्तव्यमा भनिएको छ –”सोका निम्ति थारु, मधेस र आदिवासी जनजातिका जायज मागहरु पूरा गर्न अबिलम्ब वार्ता संवादको थालनी गर्नुपर्छ भन्ने मान्यतासहित नयाँ शक्ति नेपाल अगाडि बढिरहेको सन्दर्भमा वार्ता, संवाद र सहमतिमार्फत राष्ट्रिय एकता कायम गर्न नचाहने तत्वहरु यो वा त्यो बहानामा नयाँ शक्तिलाई बदनाम गर्न लागि परेका छन् । त्यसतर्फ सचेत रहन र यस्ता निराधर, कपोलकल्पित र झूटा समाचारबाट भ्रमित नहुन र खुसी, सुखी र समृद्धिसहितको नयाँ नेपाल निर्माण गर्ने नयाँ शक्ति नेपालको अभियानमा गोलबद्ध हुन हार्दिक अपिल गर्दछु ।”