पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास हुदै
काठमाडौं, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न राजनीतिक दलका प्रमुखहरु सहित चिनियाँ उच्च स्तरिय प्रतिनिधि मण्डलको उपस्थितिमा आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास गर्ने कार्यक्रम छ । शिलान्यास कार्यक्रम विहान ११ बजे तय गरिएको छ । कार्यक्रमको लागि पोखरेलीहरुले विभिन्न जातजातिका भेषभुषा र वाजागाजा तथा झाकी सहितको र्याली निकाल्दैछन् । पोखराको अमरसिंहचोक मैदानमा जम्मा भएर र्याली शिलान्यास स्थालमा पुग्ने बताइएको छ । ४० वर्ष अघिको सपना साकार हुन लागेकोमा हर्षित भएका पोखरेलीहरुको मानवसागर उर्लने तयारी छ ।
विमानस्थल शिलान्यासको लागि संसदको विकास समिति सभापति एबं विमानस्थल निर्माण उच्चस्तरिय सहयोग समितिका संयोजक रविन्द्र अधिकारीको अध्यक्षतामा गठित मुल समिति र विभिन्न उपसमितिले भव्य तयारी गरेका छन् । शिलान्यास कार्यक्रममा समग्र चार नम्वर प्रदेशका मानिसहरुको सहभागिता रहने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चैत्र ८ गते अर्थमन्त्री विष्णु पौडेल र चिनियाँ समकक्षीवीच विमानस्थल सम्बन्धी ऋण सम्झौतापत्रमा हस्ताक्षर भएपछि पोखरामा अन्तरर्राष्ट्रिय विमानस्थल शिलान्यास हुन लागेको हो ।
पोखराको छिनेडाँडामा विमानस्थल निर्माणका लागि चिनियाँ कम्पनी सीएएमसी इञ्जिनियरिङसँग २०७१ जेठ ८ गते नै ठेक्का सम्झौता भएको थियो । पोखरा विमानस्थल निर्माणका लागि २१ करोड ७० लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । चीनको एक्जिम बैंक सस्तो ब्याजदरमा सहुलियत ऋण दिन तयार भएको छ ।
ठेक्का सम्झौता अनुसार विमानस्थलमा धावनमार्ग, ट्याक्सी वे, एप्रोन, अन्तराष्ट्रिय र आन्तरिक टर्मिनल बिल्डिङ, एयर ट्राफिक कन्ट्रोल टावर, कार्गो टर्मिनल बिल्डिङ, एयरपोर्ट हृयांगरलगायत निर्माण हुनेछन् ।
पोखरामा विमानस्थल निर्माणका लागि ४० वर्षअघि नै ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । विमानस्थलमा ४५ मिटर चौडाइ र २ हजार ५ सय मिटर लम्बाइको धावनमार्ग हुनेछ । यसमा बोइङ ७ सय ५७ आकारसम्मका जहाज उडान अवतरण गर्न मिल्ने बताइएको छ । यो विमानस्थल सन् २०१७ को अन्त्यमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
आयोजना प्रमुख प्रदिप अधिकारीका अनुसार विमानस्थलको लागि आवश्यक थप ५ सय २१ रोपनी जग्गामा ४ सय ६० रोपनी अधिग्रहण गरिसकिएको छ । जग्गा अधिग्रहण र मुआव्जा वितरणको काम ९० प्रतिशत भन्दा बढी सकिएको छ ।