विद्युतीय खरिद प्रणालीको शुभारम्भ
काठमाडौँ, २ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले एकल ‘पोर्टल’मा आधारित विद्युतीय खरिद प्रणालीको शुभारम्भ गरेका छन । सार्वजनिक खरिद अनुगमन कार्यालयले आयोजना गरेको सो कार्यक्रममा सम्बोधन गर्दै उनले मुलुक अब विद्युतीय प्रविधिको उपयोग गर्दै अघि बढ्ने बताए ।
उनले भने – “आधुनिक प्रविधिलाई उपयोग गर्दै विकास निर्माणको बाटोमा द्रुतगतिले देश अघि बढ्नेछ, अब हामीले नै देश बनाउनुपर्छ ।” विकास निर्माण खर्चसम्बन्धी आर्थिक गतिविधिलाई पारदर्शी तुल्याउन विद्युतीय प्रणाली अपरिहार्य भएको बताउँदै प्रधानमन्त्रीले आधुनिक नेपालको जग निर्माणमा नयाँ अभ्यासको थालनी भएको बताए ।
वर्तमान सरकार विज्ञान र प्रविधिका उपलब्धिलाई राष्ट्र निर्माणका काममा अधिकतम उपयोग गर्दै अघि बढ्न चाहन्छ, समृद्ध नेपाल निर्माणको प्रयासमा सबै नेपालीको साथ चाहिन्छ, प्रधानमन्त्रीको कथन थियो ।
उन्नतितर्फको यात्रामा विज्ञान र प्रविधिको अति महत्व हुने चर्चा गर्दै उहाँले विकासको गतिलाई वेगवान बनाउन सूचना तथा सञ्चार एवम् विज्ञान र प्रविधिको प्रयोगबाट पछि पर्न नहुने बताए ।
त्यस अवसरमा प्रधानमन्त्रीले सडक विभाग, सिँचाइ, खानेपानी तथा ढल निकास विभाग, जलउत्पन्न प्रकोप नियन्त्रण विभाग र स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका प्रमुखलाई आजैदेखि विद्युतीय खरिद प्रणाली कार्यान्वयन गर्न ‘युजर नेम’ र ‘पासवर्ड’ प्रदान गरे ।
सरकारी खरिदसम्बन्धी सम्पूर्ण सूचना www.bolpatra.gov.np/egp मा सर्वसाधारणले हेर्न सक्नेछन् । एसियाली विकास बैंकको प्राविधिक सहयोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणालीको थालनी गरेको हो ।