सत्ता र भत्ताको राजनीति नगर : भट्टराई

२०७३ बैशाख ६ गते, सोमबार

काठमाडौं, ६ वैशाख । नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा बाबुराम भट्टराईले आफ्नो हकअधिकार प्राप्तिका लागि मधेसी नेतालाई सत्ता र भत्ताको राजनीति त्याग्न आग्रह गरेका छन । महोत्तरीको जलेश्वरमा आज नयाँ शक्ति नेपाल महोत्तरीले आयोजना गरेको मधेस स्वाभिमान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले सत्ता र भत्ता नछाड्ने र आन्दोलन पनि गर्ने दोहोरो चरित्रका कारण मधेस आन्दोलन उपलब्धिविहीन भएको प्रष्ट्याए ।
उनले मधेसी नेताले मधेस र मधेसीलाई अधिकार सम्पन्न बनाउन चाहन्छन् भने निःस्वार्थ भएर सदन छाडेर सडकमा आउन सुझाव दिए । नेता भट्टराईले लामो बन्द र हडतालका कारण मधेस आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा निकै पछाडि परिसकेकाले अब मधेस र मधेसीले केवल राजनीतिक पहिचान र अधिकारका लागि नभएर आर्थिक विकास र समृद्धिका लागि पनि आन्दोलन गर्नुपर्ने बताए । उनले सम्पूर्ण मधेसवादी राजनीतिक दल र आममधेसीलाई एक ढिक्का भएर आन्दोलन गर्न र नयाँ संविधानमा संशोधन तथा नयाँ नेपाल निर्माणका लागि नयाँ शक्तिसँग सहकार्य गरेर अगाडि बढ्न अपिल गरे ।

प्रतिक्रियाहरु

[anycomment]