सिकार दस्तुर ह्वात्तै घट्यो

२०७३ बैशाख ६ गते, सोमबार

काठमाडौं, ६ बैशाख । ढोरपाटन सिकार आरक्षमा सिकारको दस्तुर ह्वात्तै घटेको छ । अघिल्लो यामको तुलनामा अहिले झारल र नाउर दुवैमा राजस्व दर कम छ । गत असोज–मङ्सिरमा एउटा झारल सिकार गरेको रु नौ लाख ३१ हजार लिने गरेकोमा अहिले घटेर रु एक लाख ५० हजार पुगेको छ । यस्तै गत वर्षको पहिलो सिकार याममा नाउर सिकार गरेबापत सिकारीले रु तीन लाख ३० हजारसम्म राजस्व बुझाएका थिए । तर अहिले एउटा नाउरको रु ७५ हजार राजस्व लिने गरेको छ । सिकार एजेन्सीहरुबीच प्रतिस्पर्धा नभएपछि पछिल्लो याममा सिकार दस्तुर ह्वात्तै घटेको आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल बताउछन । सिकार एजेन्सीबीच हुने प्रतिस्पर्धाका कारण नै राजस्वको दर घटबढ हुने गरेको छ ।
अहिले चालु सिकार याम (फागुन–वैशाख)मा विभिन्न देशका गरी ११ सिकारी ढोरपाटनमा सिकारका लागि आइपुगेका छन् । प्रत्येक याममा १३ नाउर तथा छ झारलको सिकार अनुमति दिने गरिएको छ । “सिकार एजेन्सीबीचमा प्रतिस्पर्धा हुँदा दस्तुर पनि बढ्छ, विद्युतीय बोलपत्रबाट सिकारी पठाउने एजेन्सीहरु छानिने गर्छन्”, अधिकृत बरालले बताए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई यामका लागि सिकार खुल्ला गर्ने गरेको छ । बर्सेनि ढोरपाटनमा सिकारी पठाउँदै आएका ग्लोवल सफारी प्रालिका शम्शेर पराजुली बर्सेनि दोस्रो याममा प्रतिस्पर्धा कम हुने बताए ।
“असोज–मङ्सिरको तुलनामा यो याममा सिकारीको कम रुचि हुन्छ,” उनले भने । सिकार खेल्न अमेरिका, जर्मनी, स्पेन, दक्षिण अमेरिका, नर्वेलगायत देशबाट सिकारी ढोरपाटन पुग्छन् । सिकारबाट मात्रै वार्षिक करिब रु एक करोड राजस्व सङ्कलन हुने गरेको छ ।
अहिले नेपाल वाइल्ड लाइफ सफारी, हिमालयन सफारी प्रालि, ग्लोवल सफारी प्रालि, ट्र्याक एण्ड टेल्र्स प्रालि र वपन नेपाल वाइल्ड लाइफ सफारीमार्फत सिकारी यहाँ आएका छन् । आरक्षको फागुने, वार्षे, सेङ, दोगाडी, घुस्तुङ र सुनदह ब्लकमा सिकार खेल्ने गरिन्छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको रोजाइमा पर्ने गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु