संरक्षणको पर्खाईमा दिकी–छ्योलिङ गुम्बा
काठमाडौं, १० वैशाख । ताप्लेजुङको ओलाङ्चुङ्गोलामा रहेको ऐतिहासिक दिकी–छ्योलिङ गुम्बाको पूर्वी र दक्षिणी भाग मर्मतको अभावमा ढल्ने अवस्थामा पुगेको छ । गत वर्षको भूकम्प र त्यसपछि आएका स–साना भूकम्पका कारण भत्किएको भागको मर्मत नहुँदा ढल्ने अवस्थामा पुगेको हो । करिब चार सयवर्ष पुरानो इतिहास बोकेको यस ऐतिहासिक गुम्बाको दुईतर्फको करिब दश मिटर भाग भत्किएको छ भने भित्रतर्फको भाग समेत चर्किएको छ ।
ऐतिहासिक महत्व बोकेको सयौँ वर्ष पुरानो गुम्बा चर्किएर ढल्ने अवस्थामा पुगे पनि सरकारी निकायले चासो नदिएको भन्दै गुम्बा व्यवस्थापन समितिका अध्यक्ष नुर्पू शेर्पाले गुनासो गर्नुभयो । भूकम्पले गुम्बा चर्किएपछि स्थानीयस्तरबाटै मर्मतको प्रयास भए पनि मर्मतका लागि धेरै रकम लाग्ने भएकाले मर्मत गर्न नसकिएको शेर्पाको भनाइ छ ।
यस गुम्बामा सयौँ वर्ष पुराना पुस्तक, बुद्धका मूर्ति, सयौँ वर्ष देखिको अखण्डबत्ती, ॐ माने पेमे हम कुँदिएको अवस्थामा जङ्गलमा फेला परेको चेरेसी च्याउलगायतका ऐतिहासिक महत्वका वस्तु रहेका छन् ।
ऐतिहासिक महत्वका विभिन्न सामग्री रहेको यस गुम्बाको मर्मतका लागि जिल्ला विकास समितिलगायतका सरकारी निकायमा बारम्बार आग्रह गर्दासमेत मर्मतका लागि कसैले चासो नदिएको स्थानीयवासीको भनाइ छ ।