प्रधानमन्त्रीको अंग्रेजी भाषण ‘हेल्लो स्टुडेन्ट आर यु ह्याप्पी…’

२०७३ बैशाख १४ गते, मंगलवार

काठमाडौ, १४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेपछि विद्यार्थीले भने, ‘खुसी छौँ ।’ प्रधानमन्त्री निवास बालुवाटार नजिकैको महेन्द्र राष्ट्रिय उमाविका विद्यार्थी माझ एकै छिनका लागि उपस्थित प्रधानमन्त्री ओलीले आफ्नो सङ्क्षिप्त मन्तव्य अङ्ग्रेजीमा दिइरहँदा उनीहरु उत्साहित थिए । ‘हेल्लो स्टुडेन्ट्स, आर यु ह्याप्पी, आइ ट्रस्ट यु आर ह्याप्पी टुडे, बिकज टुडे इज द बुक डिस्ट्रिब्युसन डे’ (विद्यार्थीहरू तिमीहरु खुसी छौ ? म विश्वास गर्छु, आज खुसी छौ किनकि आज पुस्तक वितरणको दिन हो) भनेपछि विद्यार्थी हात उठाएर एकै स्वरमा भनेका थिए, ‘यस’ ।
शिक्षा मन्त्रालयले नयाँ शैक्षिक सत्रका लागि अभियानका रुपमा थालनी गरेको निःशुल्क पाठ्यपुस्तक वितरण कार्यक्रमका लागि सो विद्यालयमा प्रधानमन्त्री पुग्दा विद्यार्थी, शिक्षक, अभिभावक र छिमेकी विद्यालयका शिक्षक समेत उत्साहित थिए । बालुवाटारमै रहेर पनि प्रधानन्त्री वा शीर्ष नेतृत्व कमै पुग्ने सो विद्यालयमा प्रधानमन्त्री ओली पुगेर कक्षा १ देखि १० सम्मका विभिन्न विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक विरतरण गरे । सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमको शिक्षण नभएका कारण सहरिया विद्यार्थी निजी विद्यालयमा आकर्षित हुनेतर्फ लक्ष्य गरेर होला प्रधानमन्त्री ओलीले आफ्नो मन्तव्य पूर्णतः अङ्ग्रेजीमा दिए ।
‘आर यु डुइङ एन्ड रिडिङ वेल ?’ (तिमीहरु राम्रोसँग पढिरहेका छौ ?’ उनले भने, ‘यु ह्याभ टु डु हार्ड वर्क एन्ड सुड डु समथिङ फर दिस नेसन’ (तिमीहरुले कडा मेहनत गर्नैपर्छ र यो राष्ट्रका लागि केही गर्नैपर्छ ।)
आफू सो विद्यालयमा पुनः समय मिलाएर आउने बताउँदै व्यस्तताका कारण प्रधानमन्त्री ओली तत्कालै फर्किँदा भने विद्यार्थीहरु सन्तुष्ट थिएनन् । उनीहरु प्रधानमन्त्रीसँग नजिक भई तस्बिर खिंचाउन खोजिरहेका थिए तर मन्त्रिपरिषद्को बैठक भएकाले उहाँ त्यहाँबाट बाहिरिनुभएको थियो । हरेक शैक्षिक सत्रमा माध्यमिक तहसम्म सरकारले निःशुल्क पाठ्यपुस्तक वितरणको जिम्मेवारी निर्वाह गरिहेको छ ।
कतिपय स्थानमा समयमै र पूरै थान पुस्तक नपुगेका कारण गुणस्तरीय शिक्षामा प्रतिकूल असर परेको गुनासो आएपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले यस वर्ष यही वैशाख ५ देखि १५ गतेसम्म वितरण अभियानको घोषणा गर्नुभएको हो ।
भर्ना अभियान तथा विद्यालय स्वागत कार्यक्रम चलिरहेका बेला पाठ्यपुस्तक वितरणको अभियान पनि सञ्चालन भएको हो । अभियानअन्तर्गत मन्त्री पोखरेल लगायत अन्य मन्त्री पनि विभिन्न जिल्लामा पुगी पुस्तक विरतणमा सामेल भएका छन् ।
शिक्षा विभागका निर्देशक बैकुण्ठ अर्यालले यस्तो अभियानबाट सामुदायिक विद्यालयप्रतिको आकर्षण र अपनत्व बढाउन सहयोग पुग्ने बताए । महेन्द्र उमाविका प्राचार्य देवराज गुरुङले विद्यालयमा मन्टेस्वरी नमुनामा बाल कक्षा सञ्चालनको तयारी भएको र गुणस्तर सुधारका लागि पहल भइरहेको जानकारी दिए । छिमेकी विद्यालय टङ्गाल माविका प्रअ राजेन्द्र अधिकारीले सरकारको पाठ्यपुस्तक वितरण अभियानले एक प्रकारको उत्साह थपेको बताउँदै कक्षा कोठाको सिकाइ सुधारमा पनि सरकारले चासो दिनुपर्ने माग गरे ।
यसैबीच भर्ना अभियानको सन्दर्भमा मंगलबार जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा फरक क्षमता भएका विद्यार्थीलाई शिक्षा विभागका निर्देशक देवकुमारी गुरागार्इँले निःशुल्क पाठ्यपुस्तक वितरण गरे । हाल प्राथमिक तहमा ९६ दशमलव ७ प्रतिशत खुद भर्ना दर छ । रासस

प्रतिक्रियाहरु

[anycomment]