थापाखोला जलविद्युत निर्माणकार्य अन्तिम चरणमा
काठमाडौ, १७ बैशाख । मुस्ताङको टुकुचेमा निर्माणाधीन १३.२ मेगावाट जलविद्युत् आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाको अहिलेसम्म सम्पूर्ण काम ९० प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ । आयोजनाको सुरुङमार्ग, विद्युत् गृह, ड्याम निर्माण, खम्बा विस्तार लगायतका ९० प्रतिशत काम सम्पन्न भएको आयोजनाका साइट म्यानेजेर सुदीप खड्काले बताए ।
आयोजनाको मुहानदेखि टुकुचेस्थित विद्युत्गृहसम्म एक हजार ८३० मिटर लामो सुरुङ खन्नुपर्नेमा ४०० मिटर मात्रै बाँकी छ । माउन्ट कैलाश इनर्जी प्रालिले करिब दुई अर्ब ६० करोड रुपैयाँका लागतमा निर्माण गरिरहेको आयोजनाबाट उत्पादित विद्युत् पर्वतको मोदीस्थित सबस्टेसनमा जोडिनेछ । त्यसका लागि कोबाङ र दानामा सबस्टेसन निर्माण र खम्बा विस्तारको काम पनि सम्पन्न भएका छन् ।
सरकारले २३२ केभिए प्रसारण लाइनका लागि म्याग्दीको दाना गाविसमा सबस्टेसन निर्माण गर्ने प्रक्रिया सुरु गरेपनि आयोजनाले भने दाना नजिकै घरापमा सञ्चालित तातोपानी जलविद्युत् आयोजनाबाट मोदीखोला सबस्टेसनसम्म जोड्ने तयारी गरेको छ । २०६८ सालदेखि निर्माण सुरु गरेको आयोजनाले सुरुमा ११ मेगावाट विद्युत् उत्पादन हुने अध्ययन गरेपनि पछि त्यसलाई बढाएर १३.२ मेगावाट पु-याएको हो । थापाखोला निर्माण सम्पन्न हुन लागेपछि स्थानीयवासी पनि उत्साहित भएका छन् ।