विशाल महाविरी झन्डा मेला सुरु

२०७३ बैशाख २४ गते, शुक्रबार

काठमाडौ, २४ बैशाख । महोत्तरी जिल्लाको भटौलिया गाविसमा आजदेखि विशाल महाविरी झन्डा मेला सुरु भएको छ । भटौलिया–३ स्थित चौरमा रु पाँच लाखको लागतमा ५० फिट अग्लो झन्डा निर्माण गराई भव्य मेला सुरु भएको स्थानीयवासी प्रवीणकुमार कर्णले बताउनुभयो । आजदेखि पाँच दिनसम्म चल्ने सो झन्डा मेलाको थप आकर्षणका लागि भगवान हनुमानको ठूलो मूर्ति, रथ तथा अन्य सहायक मूर्तिसहित सो स्थानमा लोकनाच र विभिन्न खेल तमासाको पनि आयोजना गरिएको स्थानीयवासी कुशेश्वर महासेठले बताउनुभयो । यो झन्डा मेला गत माघ ५ गतेदेखि नै सुरु हुने कार्यक्रम रहेकोमा पुस २६ गतेका राति स्थानीय तीन युवकले भटौलिया झन्डा मेला समितिका अध्यक्ष रवीन्द्र्र महासेठका ८ वर्षीय छोरा जेनिस भन्ने चिरञ्जीवी महासेठलाई अपहरण गरी हत्या गरेपछि सो झन्डा मेला स्थगित भएको थियो । मेला समितिका अध्यक्ष महासेठका छोरा मारिएपछि पूरै गाउँ शोकाकुल भएको र गाउँले भेला बसेर झन्डा मेला स्थगित गर्ने निर्णय गरेर मेला स्थगित गरिएको थियो । तर तत्कालीन अध्यक्ष महासेठसहित स्थानीय गण्यमान्यले भाकल गरेको मेला र पूजा नगर्नु, गाउँ तथा समाजको लागि अशुभ हुन्छ भनेकाले आजदेखि भटौलियामा झन्डा मेला सुरु गराएका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु