सल्यानमा भीषण वर्षा, लाखौँको क्षति

२०७३ बैशाख ३१ गते, शुक्रबार

काठमाडौ, ३१ बैशाख । हिजो बेलुका भएको भीषण वर्षाले सल्यानको वाफुखोला गाविसमा लाखौँको क्षति पु-याएको छ । वर्षापछि आएको बाढीले वाफुखोला–३ मा रहेको दोभान बजारमा रहेका १२ वटा पसल बगाएको छ ।
यस्तै, स्थानीय चिनाली खोलामा रहेका ५० वटा घट्ट बगाएको स्थानीयवासी मोहन खड्काले जानकारी दिए । बाढीले वाफुखोलामा रहेको विजय हाइड्रोपावरमा क्षति पु¥याउँदा गाउँमा बिजुली बन्द भएको खड्काले बताए । ‘ठूलो पानी २०२७ सालमा परेको थियो, त्यसपछि यति ठूलो पानी परेको मैले देखेको थिइनँ, हेर्दाहेर्दै बजार नै बगायो,’ खड्काले भने । वर्षाले वाफुखोला–१, २, ३ र ४ मा करिब एक हजार रोपनीमा लगाएको बर्खे आलु नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बाढीले खानेपानीका संरचना बगाएपछि गाविसका अधिकांश स्थानमा खानेपानी बन्द भएको स्थानीयवासी गनबहादुर वलीले जानकारी दिए । घटनापछि उद्धारका लागि वाङ्गे लाकुरी प्रहरी चौकीबाट टोली खटाएको प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । थप उद्धार तथा राहतका लागि शुक्रबार बिहानै रुकुमको झुल्नेटाबाट नेपाली सेना र सल्यानको थारमारेबाट नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धारका लागि खटिएको सहायक प्रजिअ रमेश पाण्डेले जानकारी दिए । विकट र फोन सम्पर्क हुन नसकेकोले क्षतिको पूर्ण विवरण आइनसकेको पाण्डेले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

जीवन बीमा बढ्दै

२०८२ बैशाख २२ गते, सोमबार

नेप्से ३.४४ अंकले घट्यो

२०८२ बैशाख २१ गते, आईतवार

मिटरब्याज पीडितको भेला सम्पन्न

२०८२ बैशाख १९ गते, शुक्रबार