आलोचना र समर्थनको ठोस मापदण्ड हुनु पर्छ – भरत दाहाल
आलोचना र समर्थनको ठोस मापदण्ड हुनु पर्छ । देशको आन्तरीक प्रशासन, विकास निर्माण र कुशासनका विषयमा केपी ओली सरकारको जति आलोचना गरे पनि हुन्छ । सरकारको रक्षा कबचका रुपमा पपुलिष्ट कुरा मात्र गरेर देशको दीर्घकालिन विकासको योजनालाई ओझेलमा पार्ने नियतको पनि समर्थन गर्नु हुँदैन । तर जहाँसम्म हस्तक्षेपकारी विदेशी शक्तिहरुको मनोबल उठाउने र तिनीहरुको कृपा विना नेपालमा केहि हुन सक्दैन भन्ने भ्रम सिर्जना गर्न भैरहेका षडयन्त्रहरुलाई प्रोत्साहन दिन प्रयासहरु भैरहेका छन्, त्यसलाई मलजल गर्नु हुँदैन । उत्तर कोरीयाले अमेरीकालाई चुनौति दिंदै आएको कुरा त्यसको त्यो हैसियत बनिसकेको छ भन्ने अर्थमा सकारात्मक छैन। पाकिस्तानले भारतलाई दिएको चुनौति त्यसको क्षमताको संदर्भमा उचित छैन । तर यस्ता घटनाहरुले नागरीकहरुको मनोबल उठाउँछन् र आफू पनि त्यो स्तरमा पुग्न सकिन्छ भन्ने सन्देश दिन्छन् ।
फास्ट ट्रयाक नेपालले बनाउनै सक्दैन भनेर नेपाललाई सँधै विदेशी दासत्वमा बाँच्नु पर्छ भन्ने सन्देश दिनेहरु र त्यो आँफै बनाएर देखाउनु पर्छ भन्नेहरुले दिने सन्देशमा आकाश पातालको अन्तर छ। केपीले पानी जहाज चलाउने कुरा गर्नुभन्दा देशभित्रको यातायातमा रहेको खराबिलाई सपार्नु पर्छ भन्ने कुरा कुनै काेेणबाट नाजायज छैन तर नेपाल सँधै भारतीय बन्दगाहमा निर्भर नरहेर आफ्नै ताकतमा जहाज चलाएर देखाउनु पर्छ भन्ने सपना देख्नु नाजायज छैन । यसले चाहेपछि गर्न सकिन्छ भन्ने मनोविज्ञान विकास गर्छ । मेरो भनाई मात्र के रहेको छ भने भारतसंगको अहिलेको तनावका सन्दर्भमा त्यसको रणनीतिलाई प्रोत्साहित गर्ने र जनताको मानसिकता निराशावादतिर धकेल्ने खालका आलोचनामा केन्द्रीत हुनु हुँदैन । यतिबेलाको हाम्रो दायीत्व भनेको ओलीले भारतीय योजनामा आँच आउने गरि जे बोलिरहेका वा गरिरहेका छन्, त्यसलाई कार्यान्वयन गरेर देखाउ भनेर दबाब दिने हो। हाम्रो आलोचना देश देश विरुद्ध षडयन्त्र गरिरहेका विदेशीहरुका लागि खेल्ने र तिनीहरू विना केहि हुँदैन भन्ने वातावरण बनाउने उर्जा नबनोस् ।