बाघ संरक्षणका निम्ति दश करोड

२०७३ जेष्ठ ५ गते, बुधबार

काठमाडौँ, ५ जेठ । राष्ट्रिय प्रकृति संरक्षण कोष र जुलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) बीच बाघ संरक्षणका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) ले आयोजना गरेको बाघको बासस्थान संरक्षणसम्बन्धी कार्यक्रममा भारतीय सिमावर्ती क्षेत्रमा पर्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा बाघ संरक्षणका क्रियाकलाप सञ्चालन गर्न हस्ताक्षर भएको जनाइएको छ । बाघको सङ्ख्या दिनानुदिन घट्दै गएको अवस्थामा सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर गर्ने विश्वव्यापी लक्ष्य एवम् पछिल्लो एक वर्षमा पश्चिम तराईमा बाघ तस्करी बढेको भन्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको प्रतिवेदन समेतलाई मध्यनजर गरी बाघ संरक्षणको कार्यक्रम अघि बढाउन लागिएको बताइएको छ । पर्सा वन्यजन्तु आरक्ष, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा आसपासको मध्यवर्ती क्षेत्रमा बाघ संरक्षणका क्रियाकलाप सञ्चालन गर्न कोषका सदस्यसचिव गोविन्द गजुरेल र जेडएसएलका राष्ट्रिय प्रबन्धक डा हेमसागर बरालले हस्ताक्षर गरेका हुन् ।
उक्त कार्यका लागि आइयुसिएनको बाघको बासस्थान संरक्षणसम्बन्धी कार्यक्रम र केएफडब्लुले जेडएसएलमार्फत रकम उपलब्ध गराएको र कोषले उक्त राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, जेडएसएल तथा स्थानीय समुदायसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने सदस्यसचिव गजुरेलले बताए । तीन वर्ष अर्थात् सन् २०१८ सम्ममा सञ्चालन गरिने आयोजनाको कूल लागत रु नौ करोड ५२ लाख ३४ हजार रहेको छ । त्यसमध्ये पहिलो वर्षमा रु तीन करोड ६० लाख १४ हजार, दोस्रो वर्षमा रु चार करोड १० लाख ६० हजार र तेस्रो वर्षमा रु एक करोड ७० लाख ६० हजार खर्च गरिने उल्लेख छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु