वर्तमान राष्ट्रिय परिस्थिति र एकिकृत तराई–मधेश जनजागरण अभियान – ओम प्रकाश पुन
आज देशमा प्रतिक्रान्ति भएको छ । महान जनयुद्घ, जनआन्दोलन र मधेश आन्दोलनका उपलब्धिहरु समाप्त पारिएको छ । माओवादी, आदीवासी÷जनजाती र मधेशी संग भए गरेका सम्पूर्ण सहमतिहरुलाई उल्ट्याएर एकलौटी दलाल संसदीय ब्यबस्था लाद्ने काम भएको छ । यतिबेला सत्तासंचालकहरुको दलालीकरण र असक्षमताका कारण देशको स्वाधिनता निकै खतरामा परिरहेको छ । बैदेशिक हस्तक्षेप बढेर गएको छ । शहिद तथा बेपत्ता योद्घा परिवार र घाईते अपाङ्ग योद्घाहरुको अवस्था दयनिय छ । सामाजिक असुरक्षा अस्तव्यस्त छ । राज्यका मुख्य अंगहरु सुरक्षा, न्याय, कर्मचारी क्षेत्र नै भ्रष्टाचारको केन्द्र वनेका छन । राजनैतिक दलका नेताहरु कमिसनखोरको रुपमा वदनाम भएका छन । कथित संविधानको घोषणा र त्यसको असफलाका कारण अशान्ति, अस्थितरता र अराजकताबाट देश आक्रान्त छ । यसबाट मजदुर, किसान, दलित, मधेशी, मुस्लिम, जनजाति कोही पनि सन्तुष्ट र शान्त छैनन् । भूकम्प, भारतिय नाकावन्दि र राज्यको दलाल पूँजीवादी अर्थनीतिका कारण राष्ट्रिय अर्थतन्त्र धारासायी हुदै गएको छ । देशको अर्थतन्त्र धान्ने श्रोत विदेशिएका युवाहरुले पठाउँने रिमिट्यान्स मात्र वन्न पुगेको छ । उद्योग धन्दा, वन्दव्यापार अस्तव्यस्त वन्न पुगेका छन । पर्यटन तथा होटल व्यवसाय सवै कमजोर हुन पुगेका छन । राज्यले आर्थिक क्षेत्रमा कुनै ठोस योजना दिन सकेको छैन । कालो वजारिया, भ्रष्टाचार, तस्करि र करछलिले देशको अर्थतन्त्र एकै पटक ध्वस्त हुने खतराम छ । मधेश आन्दोलनको हावा फैलाएर कालोबजारीया र तस्करहरुले पेट्रोलियम पदार्थको कृतिम अभाव सृजना गरि जनतालाई महंगिको मारमा डुबाएका छन् ।
काठमाण्डौको सत्ताले गरेको उत्पीडनले गर्दा उत्पन्न मधेशी जनताको समवेदना र भावावेशलाई पकडेर जातिवाद र क्षेत्रियतावादको अतिवादी नारा दिएर संघर्षमा उत्रिएका मधेशवादीदलहरु पनि सुस्पष्ट विचार र नीतिको अभावका कारण असफल हुदै गएका छन । क्षेत्रियतावादी आन्दोलनमा सिमित भएका मधेशवादीहरु अहिले केहि आदिवासी संघ संगठन संग मिलेर काठमाण्डौ केन्द्रित आन्दोलन शुरु गरेका छन् । यो केहि मात्रामा सकारात्मक पक्ष हो । तर फेरी पनि ती दलहरु भारतीय उपयोगितावादमा फस्ने र आन्दोलन बिचमै तुहाएर कुर्सि स्वार्थमा केन्द्रित हुने संभावना त्यत्तिकै छ । भारतको नेपाल प्रतिको चासो मधेशी जनताको अधिकार संग नभएर काठमाण्डौको सत्ता र सासक वर्ग संग जोडिएको छ । यसमा कोहि पनि मधेशी जनता भ्रममा पर्नु हुदैन । हामी मधेशी जनताका जायज माग प्रति एक्यबद्घता जाहेर गर्दछौ तर मधेशवादी दलको अगुवाईमा चलेको संसदवादका बिकल्प संसदबादको आन्दोलन संग सहमत छैनौ । किनकि हामी संसदबादका बिकल्प नयाँ जनवादका पक्षमा छौ ।
एमाओवादी क्रान्तिकारी विचार र निती छोडि सके पछि अनेकौं विभाजन र गुटवन्दिमा फसेको छ । प्रचण्डको दक्षिणपन्थि आत्मसमर्पनवाद र बाबुरामको विसर्जनवादले नेपालको क्रान्तिकारी आन्दोलनमा ठुलो नोक्सानी पुगाएको छ । नयाँ शक्तिकोरुपमा आएको बाबुरामको विचार मालेमाको कुनै सृजनात्मक विकास नभएर मालेमालाई नै परित्याग गरेको पलायनवादी, विसर्जनवादी र रुसी एल्त्सिनको विघटनवादी पूँजीवादी धारा हो भने प्रचण्डको एमालेमा विलय हुने संसदवादी धारा हो । अहिले प्रचण्को नेतृत्वमा जुन कथित माओवादी समुहहरु बिचको एकताको हल्ला फैलाईएको छ त्यो झनै हास्यास्पद नौटंगि साबित भएको छ । एकिकृत जनक्रानितको कार्यदिशाबाट भागेका केहि ब्यक्ति, वैद्मसमुहमा रहेका छदम संसदवादीहरु र अन्य बिविध समुहको नाममा अस्तित्व धान्न मुस्किल भएकाहरुलाई पेरिस डाँडाको बासी भात खाना बोलाएर पार्टी एकताको हल्ला फैलाउनु प्रचण्डको कलाबिहिन नाटक र जोकरीपन सिवाय अरु केहि होईन । यसमा कोहि पनि क्रान्तिकारी भ्रमित हुनु हुदैन ।
यसरी हेर्दा आज नेपालको राजनैतिक धु्रविकरण तीन प्रवृत्ति र धारामा केन्द्रीत हुदै गएको छ । त्यो भनेको क्रान्तिकारी धारा, यथास्थितिवादी धारा र प्रतिगामी धारा हो । प्रतिगामी धाराको नेतृत्व पूर्व राजावादी र हिन्दुवादीहरुले गरिरहेकाछन । यो धाराको जोड संसदवादी दलहरुको असफलता र अन्तरविरोधमा टेकि विदेशी शक्तिको सहयोगमा नेपालमा राजतन्त्रको पुनःस्थापना गर्ने रहेको छ । यथास्थितिवादी धाराको नेतृत्व काग्रेसले गर्दैछ । त्यसको वरिपरि एमाले, मधेशवादी र एमाओवादीहरु समेत रहेका छन् । यसको उद्देश्य नेपालमा संसदीय व्यवस्थालाई स्थापित र सुदृढ गर्ने रहेको छ । यो धारा दलाल पूँजीवादी धारा पनि हो । क्रान्तिकारी धाराको नेतृत्व हाम्रो पार्टीले गरिरहेको छ । यो धारा वरिपरि किसान, मजदुर, मध्यमवर्गको एकहिस्सा, देशभक्त शक्ति, सवै माओवादी धाराहरु भित्र रहेका क्रान्तिकारीहरु केन्द्रीत हुदै छन् । यसको उद्देश्य नेपालमा दलाल पूँजीवाद अर्थात संसदीय व्यवस्थालाई आमुल परिवर्तन गरेर जनताको पूर्ण मुक्ति, देशको स्वाधिनता, जनताको सत्ता, नयाँ जनवाद हुदै वैज्ञानिक समाजवाद स्थापना गर्ने रहेको छ । समाज र राज्यको आमुल परिवर्तन गर्ने हाम्रो पार्टीको उद्देश्य जनभावना अनुरुप हुुनुका कारणले भविष्यको मूल राजनैतिक धारा कमरेड नेत्रबिक्रम चन्द(विप्लब)ले नेतृत्व गरेको यहि माओवादी क्रान्तिकारी धारा हुने देखिएको छ । पार्टीले जनताको अधिकार, शान्ति र राष्ट्रिय स्वाधिनताको पक्षमा अगाडि सारेको प्रस्तावको कारणले नै सवै जनताको अपेक्षा, विश्वास र अशा पनि हाम्रो पार्टीप्रति बढेको छ । जनतामा पर्न गएको यहि सकारात्मक प्रभावकै कारण प्रतिक्रियावादी, दलाल, विस्तारवादी, साम्राज्यवादी र आत्मसमर्पनवादी तत्वहरु हाम्रो पर्टीका विरुद्ध भ्रम छर्ने, एक्ल्याउने, घेरावन्दि गर्ने र दमन गर्ने सोचाईमा देखिन्छन् ।
यी सबै समस्या र अबस्थाहरुका बिचबाट हाम्रो पार्टीको जनकपुर ब्युराले यहि २०७३ बैशाख ५ गते देखि तीन महिने एकिकृत तराई–मधेश जनजागरण अभियान संचालन गरेको छ । यो अभियानमा युवा, विद्यार्थी, महिला, किसान, मजदुर, आदीवासी जनजाती, मधेशी, मुस्लिम लगाएत सबै जनवर्गको सहभागिता रहेको छ । यो अभियानलाई मधेशी र पहाडी दुबै समुदायले हार्दिकतापूर्वक स्वातग, सहयोग र समर्थन गरेका छन् । परिबर्तनको उद्देश्य विनाको मधेश आन्दोलन प्रति स्वयं मधेशी जनता सकारात्मक छैनन् र यो अभिजात वर्गिय आन्दोलन हो भन्नेमा मधेशी जनता स्पष्ट छन् । मधेश आन्दोलनको कारण मधेशमा बन्दब्यापार र उद्योग धन्दा चौपट अबस्थामा छन् भने दलाल र तस्करहरु रातारात मालामाल भएका छन् । मधेशमा अहिले पहाडी फटाहा बर्ग र मधेशी फटाहा बर्गले जबरजस्त मधेशी र पहाडी जनताका बिच साम्प्रदायिक विद्घोयस फैलाउने कोसिस गरिरहेका छन् र असुरक्षाको भयपूर्ण वाताबरण श्रृजना गराएका छन् । यसलाई सर्वहारा वर्गिय बिचारकासाथ हामीले चिर्न जरुरी छ । मधेशको समस्या भनेको पाहाडी र मधेशी समुदाय बिचको हैन । यहाँको समस्या त दलाल पुजिपति बर्ग र श्रमजिवि जनता विचको असमानता र उत्पीडन हो । तराई–मधेश अहिले पनि मध्ययुगीन सामन्ती शोषण र उत्पीडनको चपेटामा छ । मधेशमा अहिले पनि हरुवा चरुवाको समस्या छ । यहाँ अहिले पनि एक लाख परिवार बधुवा मजदुरहरु भएको तथ्यांक छ, जसको संख्या तीन लाख मतदाता हुन्छ । भुमिहिन र सुकुमबासीको संख्या त झन आधा जति देखिन्छ । त्यस्ता भुमिहिनहरुलाई गाउँ ब्लक भनेर जमिन्दारको जमिन वरपर राखिएको छ र छुवाछुतको बिभेद समाजमा मात्र नभई स्कुलमा समेत चरम छ । मधेशमा ९७% मधेशी दलितहरु नै यो समस्याको पिडामा छन् । मधेशी युवाहरु हाल साहु जमिन्दारहरुबाट पाँच प्रतिशत ब्याजमा ऋण निकालेर बिदेश पलाएन हुन बाध्य छन् भने घरका अभिभावकहरु मुक्त हुनुपूर्ब पश्चिम तराईका कमैयाले जस्तै मस्यौरामा भन्दा अझै कम ज्यालामा जमिन्दारका काम गर्न बाध्य छन् । यसका आधारमा भन्न सकिन्छ कि पहाडिया उच्च वर्गिय अहंकारवाद र मधेशी उच्च वर्गिय अहंकारवाद मधेश र मधेशी जनताका साझा दुश्मण हुन् । हामी मधेशी र पहाडी जनता विभाजन हैन एकता र सम्मिलन चाहन्छौ । हामी मधेशी र पहाडीको बिचमा भाइ भाइको संबन्ध कायम गरि दलाल र सामन्तलाई वाई वाई गर्न चाहन्छौ । हाम्रो साझा उद्देश्य वर्गिय, जातीय, क्षेत्रिय र धार्मीक साँस्कृतिक उत्पीडनलाई समाप्त पारी स्वाधिन र समृद्घ नेपाल निर्माण गर्नु हो । यो भनेको दलाल पुजिपती वर्गको एकलौटी हालीमुहाली भएको प्रतिक्रियावादी संसदीय ब्यवस्थाई ध्वंस गरि नयाँ जनवादी÷समाजवादी ब्यवस्था स्थापना गर्ने हो । जस्ले पहिलो, मधेशका सामन्त र दलाल पुजिपतिको हातमा रहेको जमिन खोसेर गरिब किसान, भुमिहिन र सुकुमवासीको हातमा दिने छ । दोश्रो, तराई–मधेशमा रहेको जातीय र साँस्कृतिक उत्पीडनलाई अन्त गरि मधेशको राष्ट्रिय स्वाभिमानलाई उच्च पार्ने छ र तेश्रो मधेशमा विकाश र समृद्घि कायम गर्ने छ । तसर्थ तराई–मधेशमा बस्ने सम्पुर्ण पहाडी र मधेशी जनता एकताबद्घ भै दलाल पूजीपतिबर्गका बिरुद्घ संघर्षमा उत्रिनु जरुरी छ ।
यहि उद्देश्य प्राप्तीको लागि हाम्रो पार्टीले अहिले एकिकृत जनक्रान्तिको कार्यदिशा अघि सारेको छ । यो कार्यदिशा अन्तरगत किसान, मजदुर, बुद्घिजीबि, मध्यमवर्ग, उद्मोगी÷ब्यापारी, आदिवासी÷जनजाती, मधेशी, मुस्लिम, दलित, महिला, उत्पडीत वर्ग÷क्षेत्र, पत्रकार, राष्ट्रवादी र क्रान्तिकारी शक्तिहरुलाई गोलबन्द गर्ने उद्देश्य रहेको छ । हाम्रो लडाई अब कुनै पार्टी बिशेष, कर्मचारी वा सेना÷प्रहरी संग हुने छैन, बरु ती सबै भित्र रहेका दलाल र भ्रष्ट तत्वसंग हुने छ । हाम्रो पार्टीको अगुवाईमा देश भरी भ्रष्ट र दलालहरुलाई जनकार्बाही गर्ने अभियान अघि बढेको कुरा सबैलाई अवगत नै छ र तराई मधेशमा पनि अब यो अभियान निरन्तर चल्ने छ । एकिकृत तराई मधेश जनजागरण अभियानको मुल उद्देश्य पनि स्वाभिमानी र समृद्घ मधेश बनाउने रहेको छ ।