राप्ती अञ्चल पूर्ण साक्षर घोषित
काठमाडौँ, ७ जेठ । राप्ती पूर्ण साक्षर हुने पहिलो अञ्चल बन्न पुगेको छ । यस अञ्चलका सम्पूर्ण जिल्ला साक्षर घोषित भएका छन् । अनौपचारिक शिक्षा केन्द्रका अनुसार राप्ती अञ्चल, सल्यानको साक्षरता दर ९६.७२ प्रतिशत, प्युठानको ९७.७ प्रतिशत, दाङको ९८ प्रतिशत, रोल्पाको ९६.२७ प्रतिशत र रुकुमको ९७.२८ प्रतिशत छ ।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक सङ्घ (युनेस्को)ले ९५ प्रतिशतभन्दा बढी साक्षर भएको स्थानलाई पूर्ण साक्षरका रूपमा घोषणा गर्न सकिने मापदण्ड कार्यान्वयनमा ल्याएको छ । यी सबै जिल्ला युनेस्कोको सोही मापदण्ड अनुरूप पूर्ण साक्षरका रूपमा घोषित भएका हुन् ।
केन्द्रका निर्देशक दिवाकर ढुङ्गेलले हालसम्म २६ जिल्ला पूर्ण साक्षरका रूपमा घोषित भइसकेको जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा सात जिल्लालाई साक्षर घोषित गरिएको छ । केन्द्रका अनुसार हालसम्म पूर्वाञ्चलमा एक, मध्यमाञ्चलमा छ, पश्चिमाञ्चलमा १०, मध्यपश्चिमाञ्चलमा आठ र सुदूरपश्चिमाञ्चलमा एक जिल्ला पूर्ण साक्षरका रूपमा घोषित भएका छन् । पूर्वाञ्चलमा पाँचथर र सुदूरपश्चिमाञ्चलमा दार्चुलाले मात्र पूर्ण साक्षर बन्ने अवसर प्राप्त गरेको छ ।
सगरमाथा, कोसी, जनकपुर, कर्णाली र सेती अञ्चलका कुनै पनि जिल्ला पूर्ण साक्षर घोषित हुन सकेको छैन । मेची, नारायणी र महाकालीको एक÷एक जिल्ला पूर्ण साक्षर घोषित भएको तथा कपिलवस्तु साक्षर हुनसकेमा गण्डकी अञ्चल पनि पूर्ण साक्षर हुनेछ ।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा साक्षर घोषणा गर्ने कार्यलाई निरन्तरता दिँदै आगामी वर्ष ३० जिल्लालाई साक्षर घोषणा गर्ने योजना अगाडि सार्नुका साथै नवसाक्षरका लागि जीवनपर्यन्त शिक्षाको व्यवस्था गर्ने जनाएको छ ।