सूर्यमा दाग देखियो

२०७३ जेष्ठ ९ गते, आईतवार

काठमाडौँ, ९ जेठ । नेपाल खगोलीय समाजका अध्यक्ष सुरेश भट्टराईले यही जेठ ५ गतेदेखि सूर्यमा लाग्दै आएको दाग अझँै केही दिन रहने बताएका छन । सूर्यमा देखिएको दाग हेर्दा सानो देखिए पनि पृथ्वीको आकारभन्दा धेरै ठूलो रहेको छ । सूर्यमा हुने गतिविधिले तापक्रममा घटबढ हुँदा यस्ता दाग देखिने गरेको अध्यक्ष भट्टराईले बताउछन । सामान्यतः सूर्यको तापक्रम छ हजार डिग्री सेन्टिग्रेड हुने गरेकोमा अहिले दाग देखिएको ठाउँमा करिब एक हजारदेखि १५ सय डिग्री सेन्टिग्रेड कम भएको हुनसक्ने उनको भनाइ छ । सूर्यबाट निस्किने पदार्थ पृथ्वीनजिक आएमा त्यसले अन्तरिक्षयान, भू–उपग्रहलाई बिगार्न सक्दछ ।
सूर्यमा चुम्बकीय गतिविधिले गर्दा तापक्रममा हुने परिवर्तनले गर्दा देखिएको ए आर २५४६ नामको सो दागलाई हामीले पनि नियमित अवलोकन गरिहेका छौँ, उनले भने । उक्त दाग खुला आँखाले पनि देख्न सकिने भए पनि त्यसरी हेर्न नहुने, सुरक्षित चश्माबाट भने हेर्न सकिने बताउँदै उनले कसैलाई हेर्ने चाहना भएमा गौशालास्थित समाजको कार्यालयमा राखिएको टेलिस्कोपबाट हेर्न सकिने प्रबन्ध मिलाइएको पनि जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]