बर्गर, पाउरोटी नखाएकै बेश
काठमाडौ, ११ जेठ । प्राय जसो हामि खाजाका रुपमा पाउरोटी, बर्गर खाने गर्दछौ । तर यो हितकर नहुने तथ्य फेला परेको छ । पाउरोटी, बर्गर जस्ता बेकरी उत्पादनबाट क्यान्सरको खतरा बढ्छ भन्ने तथ्य हालै प्रकाशमा आएको छ । भारतमा गरिएको एउटा लामो अनुसन्धानबाट यो तथ्य पत्ता लागेको हो । ‘सेन्टर फर साइन्स एण्ड इन्भायरोमेन्ट’ गरेको अनुसन्धानबाट पाउरोटी, बर्गरजस्ता खानेकुरामा क्यान्सरको कारक तत्व फेला पारिएको हो । दिल्लीमा बेचिने प्रख्यात ब्राण्डका पाउरोटी र बर्गरमाथि अनुसन्धान गरिएको बताइन्छ ।
अनुसन्धानमा पाउरोटीमा पोटासियम ब्रोमेट र पोटासियम आयोडेटजस्ता हानिकारक रसायन पाइएको हो । यी रसायनका कारण क्यान्सर हुने विज्ञको भनाई छ ।
उल्लेखनीय छ, पोटासियम ब्रोमेट विकसित मुलुकमा प्रतिबन्धित छ । भारतसहितका विभिन्न मुलुकमा भने यसको प्रयोगमा प्रतिबन्ध लगाइएको छैन । पोटासियम आयोडेटबाट भने थायराइड सम्बन्धी रोग लाग्न सक्ने जनाइएको छ ।
विभिन्न ३८ ब्राण्डका बेकरीजन्य उत्पादनमा गरिएको अनुसन्धानमा ८४ प्रतिशत उत्पादन स्वास्थ्यका लागि हानीकारक पाइएको बताइएको छ ।
त्यस्ता उत्पादन स्वास्थ्यका लागि हानिकारक हुने तथ्य प्रकाशमा आएसँगै प्रतिवेदनमार्फत भारत सरकारलाई बेकरीजन्य पदार्थमा हानिकारक रसायन प्रयोगमा प्रतिबन्ध लगाउन मागसमेत गरिएको छ ।- एजेन्सी