दश हजार कैदीबन्दी राख्न मिल्ने कारागार बन्दै
काठमाडौँ, १२ जेठ । कारागार व्यवस्थापन विभागका महानिर्देशक हिमनाथ दवाडीले दश हजार कैदीबन्दी राख्न मिल्नेगरी दुईवटा कारागार बन्न लागेको बताएका छन । पछिल्लो समय फैसला कार्यान्वयन केन्द्र प्रयोगमा आएपछि अपराधीको सङ्ख्यामा वृद्धि भएको र कारागारको सङ्ख्या कम भएकाले दुईवटा ठूला क्षमताका कारागार थप्न लागिएको महानिर्देशक दवाडीले जानकारी दिए । नयाँ बन्न लागेका कारागारमध्ये नुवाकोटमा सात हजार कैदीबन्दी क्षमताको केन्द्रीय कारागार र बाँकेमा तीन हजार क्षमताको क्षेत्रीय कारागार रहनेछ । यसका लागि नुवाकोटमा ५३५ रोपनी र बाँकेमा १० बिघा जग्गासमेत लिइसकिएको दवाडीले बताए । उनले गत वर्षको भूकम्पले ३० जिल्लाभन्दा बढी जिल्लाको कारागारमा क्षति पुगेकाले चाँडो कारागार निर्माण गर्न लागेको बताए । उनले भने , “सरकारले कारागार बनाउने निर्णय गरेअनुसार हामीले बोलपत्र आह्वान गरिसकेका छौँ, अब पाँच वर्षभित्र प्रयोगमा आउने गरी काम अगाडि बढाउँछौँ ।”
हाल नेपालमा १० हजार कैदीबन्दी अट्ने कारागार भएपनि १८ हजार कैदीबन्दी राखिएको छ । त्योमध्ये १६ हजार ३५२ पुरुष, एक हजार २८८ महिला, एक हजार ४६ विदेशी, २०० बालकैदी र ९६ आश्रित बालबालिका रहेका छन् । ती कैदीबन्दी देशका ७२ जिल्लाका ७४ कारागारमा रहेका छन् ।