लप्सेफेदीमा ३० वटा वृद्धाश्रम निर्माण

२०७३ जेष्ठ २५ गते, मंगलवार

काठमाडौँ, २५ जेठ । सन्तानबाट सेवा पाउन नसकेका ज्येष्ठ नागरिकका लागि सेवा दिने उद्देश्यले काठमाडौँको उत्तरपूर्वमा पर्ने लप्सेफेदीमा झन्डै दुई सय रोपनी जग्गामा ३० वटा मैत्री सेवाश्रम निर्माण गरिएको छ । अब ज्येष्ठ नागरिक छनोटसम्बन्धी कार्यविधि तयार भएपछि ज्येष्ठ नागरिकलाई सेवा दिन सुरु गरिने छ ।
हालको शङ्खरापुर नगरपालिकामा पर्ने यो क्षेत्र श्रीपशुपतिनाथ मन्दिर क्षेत्र गौशालादेखि करिब २५ किलोमिटरको दूरीमा रहेको छ । यो क्षेत्र प्रदूषणमुक्त र पर्यटकीय हिसाबले पनि रमणीय प्रसिद्ध मणिचूड डाँडाको फेदीमा पर्छ ।
सेवा आश्रम निर्माणमा जेपी फाउन्डेसनका तर्फबाट ११, नेपाली सेनाको कल्याणकारी कोषबाट १० र नेपाल सरकारको निजी–सार्वजनिक कार्यक्रम अन्तर्गत नौवटा गरी ३० वटा घर निर्माण भएका छन् । ज्येष्ठ नागरिक छनोटसम्बन्धी कार्यविधिलाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले अन्तिम रूप दिएपछि पहिलो चरणमा निःशुल्क रूपमा सेवा सुरुआत गरिने छ । त्यसपछि सःशुल्क सेवा सुरु हुनेछन् ।
महिला, बालबालिका मन्त्रालय तथा समाज कल्याण मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले गोरखापत्रसँग कुरा गर्दै घरहरू निर्माणाधीन अवस्थामा छन्, मन्त्रालयले पनि थोरै सहयोग गरेका कारण अनुगमनमा गएका थियौँ, ज्येष्ठ नागरिक छनोटसम्बन्धी कार्यविधिको मस्यौदामा छलफल भएको बताउनुभयो । मन्त्रालयको सचिव रेग्मीको टोलीले मैत्री सेवाआश्रम निर्माणबारे आइतबार स्थलगत अध्ययन पनि गरेको थियो ।
निर्माण कार्यको नेतृत्व गर्दै आउनुभएका जेपी प्रतिष्ठानका अध्यक्ष मित्रसेन दाहालले पहिलो चरणमा ३० वटा घर तयार भएको र सुरुमा निःशुल्क बस्न तयारी भइरहेको जानकारी दिनुभयो । परियोजनाले पूर्णता पाउँदा ज्येष्ठ नागरिकका लागि करिब पाँच सयवटा घर निर्माण गरिनेछ ।
अध्यक्ष दाहालका अनुसार, मैत्री आश्रमको गुरुयोजना पूर्णरूपमा कार्यान्वयनमा आउँदा सो क्षेत्रमा आश्रममा बस्ने ज्येष्ठ नागरिकका लागि बुढ्यौली खाना, बुढ्यौली उपचार केन्द्र, मन्दिर, आत्यात्मिक केन्द्र, पुस्तकालय, अनुसन्धान केन्द्र तयार गरिनेछ ।
पहिलो चरणमा २५ शय्याको विशेषज्ञ चिकित्सालयको निर्माण भइरहेको छ । भविष्यमा यसको क्षमता क्रमिक रूपमा १०० शय्यासम्म विस्तार एवम् विकास गरिने छ । सुविधा सम्पन्न यस अस्पतालले कम मूल्यमा नै उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ । ज्येष्ठ नागरिक सेवाश्रम ज्येष्ठ नागरिक आश्रमका लागि साढे चार तलाको एक प्रमुख र अन्य तीनतले, दुईतले भवन र अतिथिहरूका लागि स–साना एकतले भवनहरू निर्माण गरिएका छन् । साना घरमा तीन कोठा छन् ।
यस आश्रममा स्वदेशी तथा विदेशी ६० वर्ष नाघेका व्यक्तिलाई मासिक न्यूनतम शुल्क लिएर आधारभूत आवश्यकतासहित खाने बस्ने व्यवस्था गरिनेछ । निश्चित सङ्ख्यामा अशक्त, असहाय र दीनदुःखीहरू र आफ्नो क्षेत्रबाट समाज र राष्ट्रलाई अतुलनीय योगदान पु¥याउने विशिष्ट व्यक्तित्वलाई निःशुल्क खान बस्न व्यवस्था गरिनेछ ।
सो स्थानमा ज्येष्ठ नागरिक प्राकृतिकमैत्री हरित आवास कुटी, सेवानिवृत्त ज्येष्ठ नागरिकहरूका लागि अतिविशिष्ठ, विशिष्ठ र सामान्य गरी हाललाई विभिन्न आकारका ४०० कुटी निर्माण गरिनेछ । यी कुटी निर्माणका लागि एक अर्ब लाग्ने अनुमान गरिएको छ । यसका लागि एक पुस्ता (पति पत्नी दुवैलाई बाँचुन्जेल) अथवा आजीवन बस्न पाउने गरी भाडामा र अनुदानमा निर्माण गरिने लक्ष्य राखिएको आश्रमले जनाएको छ ।
पहिलो चरणमा २५ शय्याको बुढ्यौली विशेषज्ञ चिकित्सालयको निर्माण भइरहेको छ । भविष्यमा यसको क्षमता क्रमिकरूपमा १०० शय्यासम्म विस्तार एवम् विकास गरिनेछ । सुविधा सम्पन्न यस अस्पतालले कम मूल्यमा नै उत्कृष्ट सेवा प्रदान गर्नेछ ।
मैत्री अश्राम क्षेत्रमा बनाइने मन्दिर नेपालको ऐतिहासिक र पौराणिक स्थल शाली नदीको शिरमा पर्ने भएकाले सर्वधर्ममा आधारित १०८ फिट अग्लो किरातेश्वर महादेवको मूर्ति निर्माणका साथै चारैतिर १२ ज्योतिर्लिङ्गको १२ वटा स–साना सुन्दर र कलात्मक मन्दिरको स्थापना गरिनेछ ।
दुई सय पचासवटा एकै नासका कलात्मक शैलीका एकतले कुटी (आवासगृह) निर्माण गरिने योजना रहेको छ । प्रत्येक कुटीको नाम लगानीकर्ताको इच्छाअनुसार फोटोसहितको शिलालेख समेत राखिने आश्रमले जनाएको छ ।
परियोजनाको भौतिक पूर्वाधारलगायत सामुदायिक विकासका लागि २०६८ चैत २० देखि २८ गतेसम्म काठमाडौँको पशुपति क्षेत्रमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञानमहायज्ञ आयोजना गरिएको थियो । करिब दुई हजार दाताहरूबाट झन्डै दुई करोड रकम सङ्कलन गरी एकीकृत परियोजनाको सङ्कल्प गरिएको थियो ।
यो क्षेत्र पर्यटकीयरूपमा पनि चर्चित छ । बुढानीलकण्ठ शिवपुरीदेखि सुन्दरीजल, मणिचुड, लप्सेफेदी, नगरकोट र चाँगुनारायण साइकल पदयात्री र हाइकिङ्गका लागि प्रसिद्ध छ । यस क्षेत्रको पूर्व उत्तर क्षेत्र साँखुदेखि मेलम्ची र हेलम्बु जाने पदयात्री पर्यटकका लागि ट्रेकिङ रुट पर्छ भने उत्तर पश्चिम क्षेत्र लप्सेफेदी सुन्दरीजल, चिसापानी हुँदै गोसाइकुण्ड र लाङटाङ ट्रेकिङ रुट पर्छ । – नारद गौतम , गोरखापत्र

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद दिवस मनाइँदै

२०८२ असार १६ गते, सोमबार

आज धान दिवस

२०८२ असार १५ गते, आईतवार

आज असार १५ : दही चिउरा खाएर मनाइँदै

२०८२ असार १५ गते, आईतवार