आज सिठी नखः
काठमाडौँ, २८ जेठ । आज जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठी । हिन्दू धर्मावलम्बीका भगवान् कुमारको जन्मदिन साथै नेवार समुदायको महत्वपूर्ण र वर्षको अन्तिम पर्व सिठी नखः । आज भगवान् कुमारको पूजा गरी मास, मुगी, केराउ लगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान ‘बारा‘ खाने चलन छ । त्यसैगरी, घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (मुट्ठी पारी बनाइएको विशेष खालको रोटी) खाने पर्व आजको दिन नेवार समुदायमा विशेष महत्व राख्ने गर्दछ । यस पर्वसँगै वर्षा सुरु हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रापाइँ) सुरु हुने पर्वका रुपमा समेत यसलाई लिने गरिन्छ । नेवार समुदायमा सिठी नखःको दुई कारणले विशेष महत्व राख्ने गरेको संस्कृतिकर्मी पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ । पहिलो सिठी नखः अर्थात् कुमार षष्ठी, महादेव पार्वतीका जेष्ठ सुपुत्र कुमारको जन्म दिन भएकाले पनि यसको धार्मिक महत्व रहेको छ । गणेश देवताका गणनायक हुन् भने कुमार देवगणका सेनापति हुन् । कुमारको पूजा–आराधना गर्नाले बर्सातको बेला धान रोपाइँजस्तो कृषि कार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने विश्वास रहेको बताइन्छ । यस पर्व सँगै नेवार समुदायमा रोपाइँ सुरु भएको सन्देश दिने भएकाले किसान कृषि कार्यमा व्यस्त हुने र जात्रा पर्व सबै थाती राखेर किसान अन्न उत्पादनका लागि मानसिक र शारीरिक रुपले पनि आफूलाई तयार पार्ने चाडका रुपमा रहेकाले पनि यसले विशेष महत्व राख्ने गरेको छ ।
सिठी नखःले परापूर्वकालदेखि पानीका मुहान सधैँ सफा राख्नुपर्दछ, विशेषगरी वर्षाको बेला पानीका मुहान बढी दूषित हुने भएकाले यसलाई सफा गरिनुपर्दछ भन्ने सन्देशसमेत सिठी नखःले दिने गरेको छ । त्यसैले नेवार समुदायमा आजको दिन पानीको मुहान सफा गर्ने प्रचलनसमेत रहेको छ । यस दिन पानीका प्राकृतिक स्रोत इनार, कुवा, पोखरी र ढुङ्गेधारा सरसफाइ गरेर सिठी नखः पर्व मनाइने गरिन्छ ।