एनसेल आक्रमणको आरोपमा माओवादी कार्यकर्तामाथि धरपकड

काठमाडौ, ३१ जेठ । पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले एनसेलका टावरहरुमा आक्रमण गर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएसंगै विभिन्न जिल्लाबाट माओबादीको कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गर्न थालेको छ। यसै क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरले नेकपा माओबादी उदयपुरका दुईजना जिल्लास्तरीय कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार विहान पक्राउ परेका उनीहरुलाई एनसेलको टावरमा आगजनी गरेको आरोप लगाइएको छ । जिल्लाको रामपुर ठोक्शीला ७ को टावरमा आगजनी गरेको आरोपमा र सोही ठाउँका पूर्णबहादुर तामाङ र राजन आचार्य पक्राउ परेको स्थानीयले बताएका छन् । ठोक्शीला ७ को गुरुङचौरीमा रहेको एनसेल टावर र जिल्लाको अर्को गाविस रौता ९ मुर्कुचीस्थित टावरमा अज्ञात समूहले आईतबार विहान एकैचोटी आगजनी गरेको प्रहरीले जनाएको छ ।
यसैगरी, दाङ जिल्ला सेक्रेटरी शितलका अनुसार यमलाल पूँजाली, पूर्ण खनाल र ज्वाला खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । खतिवडालाई आज र हिजो बेलुकी खनाल र पूँजालीलाई प्रहरीले पक्राउ गरेको हो । एनसेलको टावरमा आगजनी गरिएको आरोपमा आफ्ना कार्यकर्ताहरुलाई अन्धाधुन्द पक्राउ गरिएको भन्दै शितलले विनासर्त रिहाइको माग गरे । ‘एनसेलको टावरमा आगजनी गरिएको आरोप लगाएर अन्धाधुन्द पक्राउ गरिएको छ,’ दाङ जिल्ला सेक्रेटरी शितलले भने, ‘निर्दोष व्यक्तिहरुलाई अन्यायपूर्वक फसाउने काम भइरहेको छ । यसलाई हाम्रो पार्टी घोर निन्दा र भर्त्सना गर्दछ र उनीहरुलाई तत्काल बिनाशर्त रिहाइको माग गर्दछ ।’
यस्तै , आज बिहान म्याग्दी सदरमुकाम बेनीको जिल्ला प्रशासन कार्यालय अगाडि व्यापार गर्दै आएका जिल्लास्तरीय माओवादी नेता लालु किसान (आकाश) र पदम पुन (फिल्टर)लाई प्रहरीले पक्राउ गरेको छ । माओवादीका म्याग्दीका अर्का नेता गोपाल शर्मालाई पनि प्रहरीले आइतबार साँझ नियन्त्रणमा लिएर सोधपुछ गरी छाडेको थियो ।